सूचनाको शक्ति - The Power Of Information

        

विरासत जोगाउने अन्तिम कसरतमा कञ्चनपुरका उम्मेदवार


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर । दोस्रो चरण मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरासत जोगाउने कसरतमा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । निर्वाचनमा विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिए पनि नेकपा (एमाले) तथा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा छन् । वाम गठबन्धनले यस पटक जिल्लालाई लाल किल्ला बनाउने रणनीतिका साथ चुनावमा होमिएको छ भने काँग्रेस विरासत जोगाउने कसरतमा छ । विसं २०४८ को आम निर्वाचनपछि अहिलेसम्मको निर्वाचनमा कुनैपनि राजनीतिक दलले आफ्नो जितलाई निरन्तरता दिन नसकेका कारण चुनावमा हार्ने र जित्ने क्रम दोहोरिएका छन् ।
विसं २०४८ मा तत्कालीन २ क्षेत्र जितेको काँग्रेसले तीन वर्षपछि पराजय भोगेको थियो। विसं २०५१ मा एमालेले तीन ओटै निर्वाचन क्षेत्र जितेको थियो । त्यतिबेला काँग्रेस र एमाले मुख्य प्रतिस्पर्धी थिए । विसं २०५६ को आम निर्वाचनमा एमालेले आफ्नो जितलाई पकडमा राख्न सकेन। मतदाताले फेरि काँग्रेसलाई जितायो । काँग्रेसले तीन ओटै क्षेत्र जितेर हारको बदला लियो। एमाले प्रमुख प्रतिद्वन्द्वी बन्यो । विसं २०६२ मा सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि विसं २०६४ मा संविधानसभाको पहिलो निर्वाचन भयो । काँग्रेस एमाले दुवैलाई छाडेर मतदाताले माओवादीलाई चार ओटै सिटमा निर्वा्चित गराए। पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसले जितेको क्षेत्र पनि उपनिर्वाचनमा गुमाएको थियो ।
काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उनले माओवादीसित थोरै मत अरन्तरले जितेका थिए । संविधान निर्माण नगरी पहिलो संविधानसभाको म्याद सकिएपछि विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो। माओवादी केन्द्रले दोस्रो संविधानसभासम्म आफ्नो विरासत बचाउन सकेन। माओवादी तेस्रो स्थानमा झ¥यो । काँग्रेसले चार ओटै जित्दा एमाले दोस्रो भयो । अहिले ठीक चार वर्षपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् भने काँग्रेस एक्लै निर्वाचनमा होमिएको छ । काँग्रेसलाई साथ दिने राप्रपा विभिन्न समूहमा विभाजन भएको छ । काँग्रेसले विरासत जोगाउन दोस्रो संविधानसभा निर्वाचनमा जितेका नेतालाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा दिवान सिंह विष्ट, २ मा नारायणप्रकाश साउँद र ३ मा रमेश लेखक चुनावी मैदानमा छन् ।
तत्कालीन क्षेत्र नं ३ बाट निर्वाचित हुने काँग्रेस नेता बहादुर सिंह थापा भने प्रदेशसभा सदस्यमा उम्मेदवार भएका छन् । काँग्रेसले विरासत जोगाउन पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ । वाम गठबन्धनले क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट, २ मा नरबहादुर धामी र १ मा बिना मगरलाई उम्मेदवार बनाएको छ । उनीहरुमध्ये धामी र मगर दुवैले संविधानसभा निर्वाचन हार व्यहोर्नु परेको थियो । गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभाका नौ ओटै सिटमा जित्ने रणनीतिका साथ प्रचारमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतका आधारमा वाम गठबन्धन तीन ओटै क्षेत्रमा बलियो देखिएको छ। निर्वाचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० हजार, २ मा १५ हजार र ३ मा १० हजार मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मत यदि वाम गठबन्धनले पाए सहज रुपमा जित्ने वाम गठबन्धनका नेता टेकेन्द्रप्रसाद भट्ट बताउँछन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्धले पनि मत पाउने भएकाले यो नतिजामा हेरफेर हुन सक्ने राजनीतिका जानकार शेरबहादुर भण्डारीको भनाइ छ । गठबन्धनका नेताहरु स्थानीय तह निर्वाचनको नतिजामा धेरै हेरफेर नहुने बताउँछन् । अहिलेसम्मका स्थानीय तह निर्वाचनका नतिजाले पनि संसदीय निर्वाचनलाई खास फरक नपारेको नेपाली काँग्रेसका नेता दुर्गादत्त भट्टले बताए । पहिलेका स्थानीय निकायका चुनावले केन्द्रका चुनावलाई प्रभाव पारेको देखिएको थिएन यसले अहिले पनि केही फरक पार्दैन, उनले भने, ‘जनताले व्यक्तित्वका आधारमा मत दिनेमा हामी विश्वस्त छौँ ।’ विसं २०४८ को आम निर्वाचनपछि भएको स्थानीय निकाय निर्वाचनमा काँग्रेस र विसं २०५१ को मध्यावधिपछि भएको निर्वाचनमा एमाले विजयी भएको थियो ।
काँग्रेसले उम्मेदवारको व्यक्तिगत प्रभाव र वाम गठबन्धनका कार्यकर्तालाई पार्टी प्रवेश गराएर भोट बढाउने रणनीति बनाएको छ । गठबन्धनका कार्यकर्ता पार्टी प्रवेश गराउँदा अन्य मतादातलाई आफूतिर आकर्षित गराउन सकिने काँग्रेसको आश छ । गठबन्धनले पनि आफ्ना कार्यकर्ता प्रवेश गर्न नदिने र प्रवेश गरेमा तत्काल फर्काउने नीति लिएको छ । त्यसबाहेक काँग्रेस र राप्रपाका कार्यकर्ता गठबन्धनमा प्रवेश गरिरहेका छन् । मंसिर २१ गते हुने चुनावका लागि गठबन्धन र काँग्रेस दुवैका उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । जिल्लाका दुई लाख ६५ हजार मतदाताले मंसिर २१ गते गोप्य मतदान गरी अन्तिम फैसला गर्ने भएका छन् । रासस

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ०५:५८