बाँके । बाँकेमा ६ जना सुत्केरीको मृत्यु भएको छ । साउनदेखि कात्तिकसम्ममा ६ जना सुत्केरीको मृत्यु भएको हो । मृत्यु हुनेजति सबै मधेसी समुदायका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका आमा सुरक्षा कार्यक्रमकी फोकलपर्सन सरिता चन्दका अनुसार, गनापुरमा दुई जना, नेपालगञ्जको बाँकेगाउँ, नौबस्ता, बेतहनी, बेलहरीमा एक÷एक जना आमाको मृत्यु भएको छ ।
अधिकांश अस्पताल र केहीको घरमा मृत्यु भएको छ । अस्पतालमा बच्चा जन्माएर फर्किएपछि घरमै पनि मृत्यु भएको छ । गनापुरका दुई जनामध्ये एकजनाको घरमा र अर्काको स्वास्थ्य संस्थामा मृत्यु भएको थियो । स्वास्थ्य संस्थाले भेरी अञ्चल अस्पताल, नेपालगन्जमा रिफर गरेपनि आर्थिक अभावका कारण पुनः स्थानीय स्वास्थ्य संस्थामै लगिएको थियो । पछि उनको त्यही मृत्यु भयो । अर्का एकजना भने स्वास्थ्य संस्थामै नल्याइ मृत्यु भएको फोकलपर्सन चन्दले बताए ।
बाँकेमा सुत्केरी मृत्युदर अधिक छ । वर्षेनी दर्जन हाराहारीमा सुत्केरीको मृत्यु हुने गरेको छ । स्वास्थ्य संस्थाको सुविधा भएपनि चेतनाका अभावमा सुत्केरीको मृत्यु भइरहेको छ । सुत्केरीको मृत्यु अधिक भइरहेपछि जिल्लाका सरोकारवाला चिन्तित भएका छन् । बिहीबार जनस्वास्थ्य कार्यालय र अस्पतालहरुका प्रमुखहरुले सुत्केरी आमाको मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका छन् । फोकलपर्सन चन्दका अनुसार, रगत बगेर र सुत्केरी अवस्थामा हुने विभिन्न संक्रमणका कारण आमाको मृत्यु भइरहेको छ । आमाको पोषण अवस्था कमजोर हुनु, गर्भवती जाँच समय–समयमा नगर्नु, घरमै सुत्केरी गराउने प्रयास गर्नु र अन्तिममा अस्पताल लैजानु, बालविवाह, धेरै बच्चा जन्माउनाले आमाहरु असुरक्षित भइरहेका छन् ।
बाँके सुत्केरी मृत्युदरमा देशभरमै अगाडि देखिएको छ । जिल्लामा गतवर्ष ‘आमा बचाऊ अभियान’ थालिएको थियो । जिल्लामा कम्तीमा १४ देखि बढीमा २६ जनासम्म आमाको मृत्यु हुने गरेको तथ्यांक छ । सरदरमा १८÷२० जना आमाको वर्षमा मृत्यु हुन्छ । पहाडी, मधेसी–मुस्लिम र थारु समुदायको बसोबास रहेको जिल्लामा मधेसी आमाको मृत्युदर अधिक छ । समय–समयमा गर्भ जाँच नगर्ने, पोषणमा कमजोर, धेरै बच्चा जन्माउने र बालविवाह हुनेमा पनि मधेसी समुदाय अगाडि देखिन्छ । सुत्केरी स्वास्थ्य चौकीमा गराउनु पर्छ भन्ने चेतना पनि कमै देखिएको छ । महिला स्वास्थ्य कार्यकर्ताबाट नै घरमै सुत्केरी गराउन प्रयास गर्ने गरेको घटनाहरुले देखाएको छ । जबकी जिल्लाका अधिकांश ठाउँमा बर्थिङसेन्टर छन् । ‘बर्थिङसेन्टरसँगै चेतनाको आवश्यकता छ, सम्बद्धहरुले भन्ने गरेका छन् ।
घर र अस्पतालमात्रै होइन, रिफर गर्दा गर्दै बाटोमै पनि सुत्केरीको मृत्यु भएका छन् । सुत्केरी अवस्था नजिक आइरहदा आर्थिक जोहो नगर्ने परिपाटी पनि देखिएको छ । आर्थिक व्यवस्थापनसँगै रगत आवश्यक पर्न सक्छ, बच्चाको अवस्था कस्तो भनेर पहिला नै बुझ्ने घरपरिवार ग्रामीणभेगमा कम नै रहेका छन् । महिला स्वास्थ्यकर्ता भनेर विभिन्न तालिम लिइरहेका महिलाहरु नै घरमै सुत्केरी गराउन प्रयास गरेर मृत्युवरण गरेको जनस्वास्थ्यसँग तथ्यांक रहेको छ । सरकारले आमा सुरक्षाका लागि जिल्लामा करोडौ खर्च गरिरहदा त्यो ‘बालुवामा पानी’ भएको छ । गर्भ जाँच गर्न आउदा अण्डा, नुनदेखि भत्ता दिनेजस्ता योजनाहरु पनि सफल हुन सकेका छैनन् । सुविधा दिएर भन्दा जनचेतना बढाएर मात्रै सुत्केरी मृत्युदर रोक्न सकिने सरोकारवालाहरु बताउँछन् ।
।