सूचनाको शक्ति - The Power Of Information

        

विस्फोटका घटनाले सरकार विचलित हुँदैन : देउवा


कल्पना बोहरा/अछाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन् । नेपाली कांग्रेस अछामले मंगलसेनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे ।
‘निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस्,’ उनको भनाइ थियो । निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए ।


कतिपय स्थानमा विस्फोटका घटना गराउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनको भनाइ छ । दुख गरेर ल्याएको संविधान च्यातेर कम्युनिष्टले एकदलीय तानाशाही शासन ल्याउन खोजेको आरोप लगाएका छन् ।
देउवाले विकासको नाममा कम्युनिष्टले सिन्को समेत नभाँचेको भन्दै नेपाली कांग्रेसले जिते विकासको सबै जिम्मा आफुले लिने बताए । प्रधानमन्त्री देउवाले मंगलसैनदेखि चिसापानी हुँदै टिकापुरसम्मको सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । ‘तपाईँ काँग्रेसलाइ जिताउनुस् सामाजिक सुरक्षा भत्ता दोेब्बर हुन्छ । बेरोजगार युवालाइ पनि भत्ताको व्यावस्था हुन्छ,’ देउवाले भने ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ०१:३४