सूचनाको शक्ति - The Power Of Information

        

मतपेटिका राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी


कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् ।
जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र मुख्य निर्वाचन कार्यालयका दुईवटा ताला लगाएर सिल गरिएको छ । आशंका व्यक्त भएपछि मतगणनासम्म मटपेटी सुरक्षाको विश्वास दिलाउनका लागि दुई पक्षीय ताला लगाउन सहमति दिएको जिल्ला अदालत कालीकोटका श्रेश्तेदार सोभाकर पराजुलिले बताए । २१ गते हुने दोस्रो चरणको चुनावपछि मात्रै मतगणना हुने भएपछि वाम गठबन्धनले मतपेटीलाई प्रहरीसँगै आफ्ना युवाहरुलाई पनि डिउटीमा राखेको छ ।
हाल माओवादी केन्द्रले आफ्ना पूर्व लडाकु नरेश शाही र जग फडेराको नेतृत्वमा एक दर्जन युवाहरु रातदिन डिउटीमा खटाएको छ । कालीकोटमा ६४ हजार ९६१ मतदाता रहेकोमा ४२ हजार ८४० मत खसेको छ । चुनाव विरोधी तीव्र गतिबिधिका बाबजुत पनि ६५ प्रतिशत मत खसेको र कुनै अप्रीय घटना हुन नदिई चुनाव सम्पन्न गर्न सफल भएको मुख्य निर्वाचन अधिकृत न्यायाधिस कृष्ण मुरारी सिवाकोटीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ०१:२३