बाँके । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा लोकतान्त्रिक गठबन्धनले पनि प्रचारप्रसारका गतिविधिहरुलाई तीब्र बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियानका साथै आआफ्नो क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई पक्षमा पार्न प्रयास गरिरहेका छन् । सामाजिक क्षेत्रमा कहलिएका व्यक्ति, क्लब र संगठनका मत आफ्नो पक्षमा पार्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु सक्रिय भएर लागेका छन् ।
‘समाजमा प्रभाव भएका व्यक्ति र क्लबका प्रतिनिधिहरु–जसले ठूलो संख्यामा मत स्विङ गर्ने हैसियत राख्छन् । उनीहरुलाई आफ्ना एजेण्डा बुझाउने र पक्षमा ल्याउने काम पनि घनिभूतरुपमा थालिएको छ । जसले लोकतान्त्रिक गठबन्धनको पक्षमा महौल बनाउन थप मद्दत पु¥याएको छ ।’ नेपाली कांग्रेस बाँकेका एक नेताले भने । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी क्षेत्रमा घरदैलो गरेको र वडा नं. १५ मा कोणसभा आयोजना गरेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार खत्री र प्रदेश सभा उम्मेदवार गौडेलले संविधान कार्यान्वयन गरी लोकतान्त्रिक शासन व्यवस्थामार्फत मुलुकलाई समृद्धितर्फ अघि बढाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको विजय हुनु आवश्यक रहेको धारणा राखेका थिए । उता प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले विनौना, कुसुम, कचनापुर क्षेत्रमा मतदाता भेटघाट गरेको बुझिएको छ । बाँके क्षेत्र नं. २ ख को मोर्चा प्रदेश सभा उम्मेद्वार सुरेन्द्र हमालले सम्हाले । राप्रपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुको दलबलसहित हमालको नेतृत्वमा वडा नं. १४ मा घरदैलो कार्यक्रम आयोजना गरिएको प्रचार–प्रसार सचिवालय संयोजक सुनिल सिंह हमालले जानकारी दिए ।
त्यस्तै प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश आजादले हिरमिनिया क्षेत्रमा मतदातासँग भेटघाट गर्नुका साथै समाजका प्रबुद्ध व्यक्तिहरुसँग छलफल गरेको पनि हमालले जानकारी दिए । हमालका अनुसार बाँके क्षेत्र नं. २ ख मा नेपाली कांग्रेसले आईतबार बिशेष कार्यक्रम तय गरेको छ । ‘विभिन्न वडाहरु समेटेर एकै दिन तीन वटा संयुक्त सभा गर्ने तयारी भएको छ । प्रदेश सभा ख का सबै वडाहरुलाई संयुक्त सभामा समेटिने छ ।’ हमालले भने । यता बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु दिनैभर घरदैलो अभियानमा व्यस्त रहे । घरदैलोका क्रममा मतदाताहरुबाट पाएको न्यानो स्वागत, उम्मेदवार र पार्टीप्रतिको विश्वासलाई आधार मान्दा लोकतान्त्रिक गठबन्धनप्रति क्षेत्र नं. ३ मा पनि जनलहर बढ्दै गएको कांग्रेसजनको बुझाई छ ।
प्रचारप्रसारका लागि ३ दिनको समयसीमा बाँकी रहँदा लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा विहान घरदैलो गरेको प्रचार–प्रसार संयोजक प्रकाश शाहीले जानकारी दिए । स्थानीयबासीले सडक, पुलपुलेसा, सिंचाइँ सुविधाको माग उम्मेदवारसमक्ष गरेका थिए । त्यस्तै कुर्मी, थारु तथा कांग्रेस र राप्रपाका कार्यकर्ताहरुले दिउँसो बैजनाथ ३ नौवस्तामा वडा भेला समेत गरेको शाहीले बताए । प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले भने राधापुरको जलपोखरी, जानकी गाउँपालिकाको मानपुर र खजुराको डि गाउँमा घरदैलो तथा प्रचार–प्रसार गरेको सचिवालय संयोजक रमेश सिंजालीले जानकारी दिए । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्व जरुरी रहेको बताउँदै शाहले कम्युनिष्ट अधिनायकवाद रोज्ने कि प्रजातन्त्र रोज्ने भन्नेबीचको लडाइ भएकाले त्यसै अनुसार मतदान गर्न पनि मतदाताहरुसँग अपील गरे ।
।