सूचनाको शक्ति - The Power Of Information

        

‘बदलिन्छ नेपालगन्ज, अब अत्याधुनिक शहर’


बाँके । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनका क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जलाई अत्याधुनिक शहरका रुपमा विकसित गरिने जनाएका छन् । उम्मेद्वार मिश्रले नेपालगन्जमा निर्माणाधिन बसपार्कलाई अझै स्तरोन्नती गरी आधुनिक बसपार्क बनाइने बताए ।
‘अब नेपालगन्ज बदलिन्छ,’ नेपालगन्ज वडा नं. ४ बसपार्कमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वारद्वय मिश्र र गुप्ताले भने, ‘ऐतिहासिक शहर साँस्कृतिक पर्यटनको रुपमा विकास हुन्छ ।’ उनीहरुले नेपालगन्जमा मिश्रित संस्कति रहेकोले यसलाई साँस्कृतिक शहरका रुपमा विकास गरिने पनि बताए ।
उम्मेद्वारद्वय मिश्र र गुप्ताले नेपालगन्जमा सार्वजनीक शौचालय, खानेपानी लगायतका साना योजनाहरुलाई प्राथमिकीकरण गरी समस्याको समाधान गरिने बताए । ‘हामीले चुनाव जित्छौँ, यसमा शंका नगर्नुस्, आफ्नो मतलाई सही ठाउँमा प्रयोग गर्नुस्,’ उम्मेद्वारद्वयले भने, ‘खेर जाने ठाउँमा मतदान गरेर नेपालगन्जको विकासलाई पछि नपार्नुस् ।’
उम्मेद्वारद्वय मिश्र र गुप्ताले केन्द्रमा वामपन्थीको सरकार बन्ने निश्चित भएको बताए । ‘नेपालगन्जमा स–साना पूर्वाधारका योजनाहरु पनि सञ्चालन गर्नुपर्नेछ । ठूला दिर्घकालिन योजनाहरुलाई पनि पुरा गर्नुछ । यसका लागि केन्द्र र प्रदेश सरकार समर्थितले जित्दा विकास निर्माणमा सहज हुन्छ,’ उम्मेद्वारद्वयले भने, ‘हामीले जित्दा प्रदेश र केन्द्रसँगको समन्वयमा बजेट ल्याउँछौँ ।’
उम्मेद्वारहरुले शुक्रबार विभिन्न ठाउँमा आधा दर्जन बढी कोणसभा गरेका छन् । त्यसका साथै विशेष ठाउँमा घरदैलो र भेटघाट गरेका छन् । कोणसभा तथा चुनावी अभियानमा उम्मेद्वारसँगै क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्साल, सहसंयोजक आदेश अग्रवाल, एमालेका उपसचिव प्रमोद धिताल लगायत यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार ११:३५