सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा काँग्रेसले धाँधली गर्न खोज्दैछ : उपाध्यक्ष रावल

कल्पना बोहरा/अछाम । अछाम क्षेत्र नं. १ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेवदार भीम रावलले विदेशी शक्तिको आडमा नेपाली काँग्रेसले निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस विदेशीको ईसारामा चलेको आरोप लगाए ।
चौरपाटी गाउपालिका वडा नं. ५ लुंग्राको चुनावी सभालाई सम्बोधन गर्दै रावलले टीकापुर घटनामा समेत भारतीय शक्ति र काँग्रेसका केही नेताहरुको समेत हात रहेको ठोकुवा गरे । उनले विदेशी शक्तिले देशमा विखण्डन ल्याउन खोज्दा समेत काँग्रेसले त्यसको समर्थन गर्दै मौन बसेको आरोप लगाए ।
नेपालको संविधानमा महिला, दलित र पिछडिएका बर्गहरुलाई अगाडि बढाएको बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले वाम गठबन्धनले त्यसको पूर्ण कार्यान्वयनका लागि आवाज उठाइरहेको बताए ।
चुनावी सभामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवं पूर्व सभासद शेरबहादुर कुँवरले बामपन्थी शक्ति मिलेर अब स्थीर सरकार बनाउने निश्चित भएको बताए । नेता कुवरले बाम गठबन्धनले मात्र देशलाई विकास र उन्नतितर्फ लिन सक्ने भएकाले जनतालाई मतदान गर्न आग्रह गरे ।
चुनावी सभामा एमाले प्रदेश संगठन कमिटी सदस्य एलबी रावल, प्रदेश संगठन कमिटी सदस्य तथा समानुपातिक उम्मेदवार मिना साउद, प्रदेशसभा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार गोविन्दबहादुर कुँवर लगायतले महिला, दलित, पिछडिएका वर्गका साझा सवाल, भूमिहिनहरुको अधिकार सुुरक्षित गर्न वाम गठबन्धनको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार ०४:३१