सूचनाको शक्ति - The Power Of Information

        

अछाममा वाम गठबन्धन र काँग्रेसबीच कडा टक्कर


अछाम । अछाममा नेपाली वाम गठबन्धन र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुईवटा क्षेत्र भएको अछाममा नेपाली काँग्रेसले पनि पछिल्लो समय पकड बलियो बनाउँदै गएको दावी गरेको छ भने स्थानीय तहको नतीजा अनुसार पहिलो भएको वाम गठबन्धनको पकड पनि बलियो नै छ । क्षेत्र नं. १ मा वाम गठबन्धनबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका भीम रावल छन् भने उनको प्रतिस्पर्धीको रुपमा जिल्ला विकास समितिका पूर्व सभापति भरतकुमार स्वाँर छन् ।
२०७० मा भएको संविधान सभाको दोश्रो निर्वाचनमा पनि अछामको दुबै क्षेत्रमा एमालेले नै जितेको थियो । क्षेत्र नं.१ मा पनि एमालेबाट भीम रावलले नै जितेका थिए । अहिले पनि क्षेत्र नं. १ मा भीम रावलले आफ्नो पकड अझ बलियो बनाउँदै चुनावी मैदानमा उत्रिएका छन भने काँग्रेस उम्मेद्वार स्वाँर रकम बाँड्दै मतदाता किनिरहेको आरोप स्थानीयले लगाएका छन् । अछामकै क्षेत्र नं.२ मा वाम गठबन्धनका यज्ञ बोगटी र काँग्रेसका पुष्पबहादुर बमबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रहेका बम र एमालेका जिल्ला सचिव बोगटी सदरमुकाम मंगलसैनका स्थायी बासिन्दा हुन्् । पाँच वटा स्थानीय तह भएको क्षेत्र नं. २ मा बोगटीले बाजी मार्ने सम्भावना रहेको पत्रकार टेकराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं. २ मा संयुक्त बाम मोर्चा कांग्रेस भन्दा ७ हजार मतले अघि भए पनि काँग्रेसको पकड समेत राम्रो बनाउँदै गएको छ । स्थानीय तहको चुनावमा काँग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लडेकाले त्यतिबेला काँग्रेस पहिलो भनिए पनि अहिल माओवादीले एमालेसँग गठबन्धन गर्दा काँग्रेस अछाममा खुम्चीने अवस्थामा पुगेको भण्डारीले बताए । दुई वटा क्षेत्र भएको अछाममा दुबै क्षेत्रमा वाम गठबन्धनले बाजी मार्ने सपना बोकेको छ भने काँग्रेसले पनि हिम्मत नहारी रातदिन मतदातालाई आफुतिर तान्न कडा कसरत सुरु गरेको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अछामका प्रतिनिधिसभा र प्रदेशसभामा भिड्ने सबै उम्मेद्वारहरुले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ०८:२९