सूचनाको शक्ति - The Power Of Information

        

महेन्द्र पार्क मासेर सिटी हल बनाउने तयारी, स्थानीयको विरोध

बाँके । नेपालगन्जमा रहेको महेन्द्र पार्कलाई मासेर सिटी हल बनाउने तयारी भएको छ । सिटी हल बनाउनका लागि अहिले माटो परीक्षणको काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वामित्व रहेको महेन्द्र पार्कलाई सिटी हल बनाउनका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई अनुमति प्रदान भइसकेको छ । नगरपालिकाले जग्गा उपलब्ध नगराउदा वर्षौदेखि सिटी हलका लागि आएको पैसा फिर्ता हुँदै गएको थियो ।
महेन्द्र पार्क बाह्य तथा आन्तरिक पर्यटकका लागि घुम्ने ठाउँ बन्दै आएको छ । नेपालगन्जमा आउने बाह्य तथा आन्तरिक पर्यटकले बागेश्वरी मन्दिरपछि हेर्ने/घुम्नेमा महेन्द्र पार्क नै पर्छ । यद्यपि, पछिल्ला वर्षदेखि महेन्द्र पार्कको व्यवस्थापन चुस्त नहुँदा घाटामा गइरहेको छ । ठेक्का जाने पार्क नगरपालिका आफैले कर्मचारी राखेर चलाउनु पर्ने अवस्थामा आएको छ ।
नेपालगन्जमा सिटी हल पनि अत्यावश्यक रहेको छ । उद्योग बाणिज्य संघको अगुवाईमा कारकादोस्थित सडक डिभिजन कार्यालयको परिसरमा बहुउद्देश्यीय सिटी हल बनाउने योजना पनि लम्बिदै गएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत सिटी हलका लागि वर्षेनी रकम आउदै फर्किदै गरेको छ ।
नेपालगन्जमा महेन्द्र पार्क र सिटी हल दुवै आवश्यक छ । पार्क मासेर सिटी हल बनाउने कुरामा स्थानीय केहीले विरोध गरेका छन् । नगरपालिकाले भने औपचारिक रुपमा निर्णय गरेर शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई सिटी हल बनाउन जिम्मा दिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भूसालले आठ जना अट्ने सिटी हल बनाउने प्रक्रिया अघि बढेको सत्यपाटीलाई बताए ।
‘हामीले पार्कको पूर्वीछेउबाट भवन बनाउनका लागि लिखित अनुमति लिइसकेका छौं, अहिले माटो परीक्षण भइरहेको छ, यो वर्ष डिजाइन र टेण्डरसम्म गर्न पाए अर्को वर्षदेखि धमाधम काम गरिन्थ्यो, इन्जिनियर भूसालले सत्यपाटीलाई भने । कार्यालयमा यो वर्ष नेपालगन्जमा सिटी हलका लागि ४० लाख रुपैया आएको छ । गतवर्ष ३० लाख आएर फिर्ता भएको थियो । कोहलपुरमा सिटी हल बनाउन दुई करोड आएको छ ।
महेन्द्र पार्कको पूर्वीछेउमा भवन बनाइए पनि पार्किङ गर्दा पार्क पुरै मासिने इन्जिनियर भूसालले सत्यपाटीलाई बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शरदकुमार पौडेलले पनि पार्कमा सिटी हल बनाउनका लागि प्रक्रिया अघि बढिसकेको बताए । नगरपालिकाका पूर्व उपमेयर एवं स्थानीय बासिन्दा समसुद्दिन सिद्धिकीले पार्क मासेर सिटी हल बनाउन नहुने बताइरहेका छन् । उनले सिटी हलका लागि अन्यत्र जग्गा खोज्न आग्रह गरे । हालै सम्पन्न नगर सभामा पनि सिद्धिकीलगायत केहीले महेन्द्र पार्क मासेर सिटी हल बनाउन नहुने अडान राखेका थिए ।
महेन्द्र पार्कमा यतिबेला युनिक कन्सलटेन्सीका कर्मचारीहरु माटो परीक्षा गर्न व्यस्त छन् । सुपरभाइजर सतनदास कथबनियाको नेतृत्वमा काठमाडौंबाट आएका पाँच जनाले पार्कभित्र १९ मिटर तलको माटो निकालिरहेका छन् । ‘दुई ठाउँको माटो निकालियो । कालो चिम्टी माटो आएको छ । यो राम्रो हो, सुपरभाइजर कथबनियाले सत्यपाटीलाई भने, ‘अब एक ठाउँको माटो निकाल्छौं अनि फर्किन्छौं ।’ केही जनावर र पंक्षी रहेको महेन्द्र पार्कमा घुमघाम गर्ने आन्तरिक पर्यटकको हल्का चाप रहेको छ । हेर्ने जनावर र पक्षी नहुँदा पर्यटकको घुइचो लाग्न सकेको छैन । जनावर र पक्षीको स्याहार र रेखदेखमै ठूलो खर्च हुने गरेको छ । व्यवस्थापन राम्रो नभएर घाटा भएपनि पार्कलाई मास्न नहुने स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ०७:००