सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारपछि गर्भवती भएकी दश वर्षीया बालिकाको कहानी

बीबीसी । संचारमाध्यमको बवण्डरको केन्द्रमा फसेकी दश वर्षीया गर्भवती बालिकालाई कमै मात्र थाहा छ, उनको चर्चा केही हप्तादेखि चर्चाको केन्द्रमा छ । उनलाई आफूलाई के भएको भन्ने बारेमा पनि राम्रोसँग जानकारी छैन । बीबीसीले चण्डिगढ पुगेर उनमाथि भएको अत्याचारका विषयमा जानकारी लिएको छ । उनी निकै मिजासिली बालिका हुन् । जो तत्काल मुस्कुराउन सक्छिन् । उनी लजालु पनि छन् । र धेरै कुरा गर्न मन पराउँदिनन् ।
६ कक्षामा अध्ययनरत यी बालिकाका अंग्रेजी र गणित सबैभन्दा मन पर्ने विषय हुन् । उनलाई चित्र कोर्न निकै मन पर्छ । उनी निकै राम्रो चित्र पनि बनाउँछिन् । यी बालिकाको प्रोफाइल भनेको उनलाई आफन्तले कयौं पटक बलात्कार गरे । उनलाई बलात्कार गर्ने आफन्तलाई पक्राउ गरी जेल पठाइएको छ र मुद्दा पनि चलिरहेको छ । २८ जुलाइमा सर्वोच्च अदालतले बालिकाकातर्फबाट गर्भपतनका लागि दिइएको निवेदनलाई खारेज गरिदिएको छ ।
सर्वोच्चले ३२ हप्ताको गर्भलाई पतन गर्न नमिल्ने तर्क सुनाएको छ । डाक्टरको एक टोलीले ३२ हप्ताको गर्भपतन गर्नु बालिका र उनको भ्रुण (जो जिउँदै र स्वस्थ छ)का लागि निकै खोजिम पूर्ण हुनसक्ने सल्लाह दिएको थियो । अदालतको सो फैसला बालिकाको परिवारका लागि निकै निराशाजनक थियो । उनीहरुले अदालतले गर्भपतनको अनुमति दिने आशा गरेका थिए । १० वर्षीया यी बालिकाको विषयले चण्डीगढसमेत पुरै भारतलाई हल्लाएको छ । चण्डीगढ स्टेट लिगल सर्भिसेज अगरिटीका सदस्यसचिव महावीर सिंहले भने, ‘हामीले १४÷१५ वर्षमा गर्भवती भएका धेरै घटना देखेका छौं । दश वर्षीया बालिका गर्भवती भएको घटना पहिलो पटक देखेका छौं ।’ भारतीय कानुन अनुसार २० हप्तापछि गर्भपतन गर्न पाइँदैन ।
दश वर्षीया यी बालिकाको विषयमा पनि उनी गर्भवती भएको तीन हप्तापछि मात्रै थाहा भयो। आफ्नो पल्लो पेट दुखेको आमालाई बताएपछि आमाले बालिकालाई अस्पताल लगेकी थिइन् । एक व्यक्तिका अनुसार बालिका निकै सोझी छिन् र उनलाई अहिलेसम्म पनि थाहा छैन आफूलाई के भएको हो । किनभने उनी तन्दुरुस्त र मोटीघाटी छन् । सोही कारण उनका आमा बुवालाई पनि उनी गर्भवती भएको थाहा भएन । त्यसमा पनि उनीहरुले सपनामा पनि सोचेका थिएनन् की आफ्नी दश वर्षीया छोरी गर्भवती भएकी छिन् । बालिकालाई अहिलेसम्म उनी गर्भवती भएको जानकारी दिइएको छैन । उनीहरुले पेटमा पथ्थर भएका कारण पेट दुखेको भन्दै आएका छन् । उनलाई यतिबेला अण्डा, दूध, फलफूल, माछा र मासु खान दिइएको छ । आफूलाई यतिधेरै स्याहार गरेको देखेर बालिका निकै खुशीछिन् ।
तर विगत केही दिनदेखि घरमा प्रहरी, समाजिक कार्यकर्ता र वकिलको आगमन बाक्लिन थालेको छ । घर बाहिर सञ्चारमाध्यम पनि आउन थालेका छन् । केही मानिसहरुले अब भने आफूमाथि के भएको हो भन्ने कुरा बालिकाले बुझ्न थालेको बताएका छन् । एक वरिष्ठ अधिकारीले भने, ‘उनलाई वास्तविक समस्याको जानकारी छैन होला, विषयमा गम्भीरताको अनुभव पनि छैन होला, तर अब उनलाई सबै थोक जानकारी भयो होला ।’ बालिकाका आमा बुवा पनि यस्तो अवस्थाको सामना गरिरहेका छन् । परिवार गरीब छ । र एउटा कोठामा बस्छ । उनका बुवा सरकारी जागिरे छन् । आमा घरमा काम गर्छिन् । यो विषयमा जाँच गरिरहेकी महिला प्रहरी अधिकारी प्रतिभा कुमारी भन्छिन्, ‘यो निकै राम्रो परिवार हो । उहाँहरु यति सोझो हुनुहुन्छ की त्यो मान्छे मेरी छोरीसँग के गरिरहेको छ भन्नेसम्म पनि जानकारी पाउनु भएन ।’

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ०५:१८