सूचनाको शक्ति - The Power Of Information

        

वाम गठबन्धनको जीतपछि अछामको तीव्र विकास : उम्मेद्वारहरु


कल्पना बोहरा/अछाम । नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य भिम रावलले पिछडिएका, निमुखा, गरिब, वृद्धवृद्धा र भूमिहिन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन् । उम्मेद्वार रावलले आर्थिक क्षेत्रको विकास, बेरोजगार युवाहरुका लागि विभिन्न उद्योग धन्दाको विकास गर्ने र यो क्षेत्रमा रहेका खप्तड, मालिका, बैजनाथ धाम, बान्नीगढी लगायतका क्षेत्रको प्रचारप्रसारका लागि आफु लागि पर्ने बताएका छन् ।
चौरपाटी गाउँपालिकाको वडा नं. ३ गगुडामासंयुक्त वाम गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै रावलले आफ्नो पार्टी सरकारमा भएका बेला समाजमा पिछडिएका निमुखा गरिब वृद्धवृद्धा, असक्त अपाङ्ग र भूमिहिन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याएको र अझै पनि यो भन्दा राम्रा कार्यक्रम ल्याउन लागि पर्ने बताए ।
यसैबीच, पूर्र्व विना विभागीय मन्त्री तथा एमाले नेता भीम कडायतले विकासको चिन्ता वाम गठबन्धनलाई मात्रै भएको बताए । पञ्चदेवल बिनायक नगरपालिको बिनायकमा वाम गठबन्धनको चुनावी सभमा बोल्दै नेता कडायतले हाल अछाम भइरहेका विकासका कामहरु एमालेको पहलमा सम्भव भएको बताए ।
एमाले नेता कडायतले यस जिल्लामा अहिले निर्माण भैरहेका मध्य पहाडी राजमार्ग, सेती लोकमार्ग, साँफेबगर बिमानस्थल लगायत जिल्लाका बिभिन्न ग्रामिण सडक बिस्तारको काम नेकपा एमालेको पहलमा भैरहेको बताए । उनले यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन समेत मतदाताहरुलाई आग्रह गरे ।
चुनावी सभामा नेकपा माओवादी केन्द्रका दिपक साउद, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा अछाम ईन्चार्ज झपट साउद, पोलिटव्युरो सदस्य झंकर साउद, प्रदेश सभा १ प्रत्यक्ष तर्फका उम्मेदावर गोविन्द कुँवर, एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेरबहादुर कुँवर लगायतले वाम गठबन्धनले जितेमा जिल्लाको तीव्र विकास हुने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ०२:४९