बाँके । हुम्लाको सिमकोटबाट सुर्खेत उड्न लागेको तारा एयरको ९एन एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित दुई जना गम्भीर घाइते भएका छन् । सिमकोट विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको विमानको पांग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो। जहाजको नोज कुच्चिएको छ ।
दुर्घटनामा परी क्याप्टेन वसन्त लामा र नेपाल प्रहरीका असई अमृत बराल घाइते भएका छन् । घाइते क्याप्टेन लामाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ भने असई बराललाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ । उनको आँखा नजिकै चोट लागेको छ । अरु १४ यात्रु भने सामान्य घाइते छन् । क्याप्टेनसहितका यात्रुलाई लिन तारा एयरकै विमान हुम्ला जाँदैछ । विमान चुनावको सुरक्षाका लागि हुम्ला खटिएर फर्कन लागेका १३ जनपद प्रहरी पनि सवार थिए ।
।