सूचनाको शक्ति - The Power Of Information

        

लोकतान्त्रिकको घरदैलो र चुनावी सभा तीब्र, डुबान समस्यालाई उच्च प्राथमिकता दिने हमालको प्रतिवद्धता

बाँके । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ९ दिनमात्र बाँकी रहँदा बाँकेमा उम्मेदवारहरुको बढ्दो घरदैलो र चुनावी सभाले रौनक बढाएको छ । निर्वाचनको मिति संघारमै आउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा तीब्र बन्दै गएको छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेल मंगलबार कोहलपुर नगरपालिका वडा नं. १० एकतानगरमा घरदैलोमा व्यस्त रहने प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले आफू राप्तीसोनारी गाउँपालिकाको वडा नं.७ फत्तेपुरमा घरदैलोमा रहेको बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादसँगै डुडुवा गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँहरुमा आफूले घरदैलो गरिरहेको प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले जानकारी दिए । प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालको बसपार्क क्षेत्र, गणेशपुरमा घरदैलो र नेपालगन्जको वडा नं. ३ र ११ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह मंगलबार राधापुरको घरदैलो र एल गाउँको कोणसभामा व्यस्त रहने प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु बैजानाथ गाउँपालिका वडा नं.७ पेडारीमा घरदैलोमा रहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिए ।
यस्तै नेपालगन्जको बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् । उक्त गठबन्धनबाट प्रदेश सभा २ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालसहित नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताले मंगलबार बिहान घरदैलो गर्ने क्रममा बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने प्रतिवद्धता जनाएका हुन् । सो क्रममा मतदातालाई आग्रह गर्दै प्रदेश सभा उम्मेदवार हमालले कसैको प्रलोभनमा नपरेर मतदान गर्न आग्रह गरे ।
‘चुनावमा भोट हाल्ने अधिकार तपाईंहरुको हो, कस्तो व्यक्तिलाई जिताएपछि देशको समृद्धि र नेपालगन्ज क्षेत्रको विकास हुन्छ भन्ने कुरा तपाईहरुलाई थाहै होला,’ हमालले भने, ‘चुनावमा आफ्नो विवेक प्रयोग गर्नुहोला ।’ विगतमा आफुलाई यहाँका मतदाताले नेपालगन्ज नगरपालिकाको उपमेयरमा जिताएर काम गर्ने अवसर प्रदान गरेको उनले स्मरण गराए । आफु निर्वाचित भएपछि नेपालगन्जको डुबान समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न उच्च प्राथमिकता दिने उम्मेदवार हमालको भनाई छ । यसपटकको निर्वाचनमा राप्रपा र नेपाली काँग्रेसबीच लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउँदै मतदाताले प्रतिनिधी सभा २ मा राप्रपाको चुनाव चिन्ह गाई र प्रदेश सभा २ क र ख मा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले अपिल गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलवार ०८:४८