सूचनाको शक्ति - The Power Of Information

        

जनताको मायाले हामी जीत नजिक छौँ : कँडेल


बाँके । आगामी मंसिर २१ गते हुने निर्वाचनको मिति नजिँकिएसँगै बाँकेका उम्मेदवारहरू अहिले मतदाताका घरदैलोमा आफ्ना चुनावी अभियानसँगै व्यस्त देखिन्छन् । उनीहरूले आफ्नो पक्षमा मतदाताहरूलाई प्रभाव पार्ने खालका प्रचार शैली अपनाउन थालेका छन् । वाम र प्रजातान्त्रिक गठबन्धनका बीचमा हुने चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला ? अहिले अनुमान गर्न भने सकिँदैन ।
वाम गठबन्धनका उम्मेद्वाहरूले चुनावी अभियान समूहगत रुपमा विभिन्न ठाउँमा गरिरहेका छन् । नेपाली कांग्रेसले पनि चुनावी प्रचार अभियानलाई गाउँगाउँ र विभिन्न भातृ तथा शुभेच्छुक संगठन परिचालन समिति गठन गरी चुनावी प्रचारलाई तीव्रता दिएका छन् । प्राय सबैजसो दलका उम्मेद्वारहरूले आफ्ना घोषणा पत्र तयार गरी मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
चुनावी घोषणापत्र बोकेर उम्मेद्वारहरू पनि घरदैलौ र खेतबारी सबै ठाउँमा पुग्ने गरेको देखिन्छ । ठूला दलहरुजस्तै बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका सहायक प्रवक्त तेजनारायण कँडेलले पनि आफ्ना चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
क्षेत्र नं. २ का विभिन्न गाउँहरुमा चुनावी अभियानलाई केन्द्रीत गरेका कँडेलले हिन्दुत्वका लागि जनताको साथ आफूलाई रहेको बताए । उनले भने, ‘हिन्दुत्वको लागि हामीलाई साथ छ । हामीलाई जनताले माया गर्नुभएको छ । हामी जित नजिक छौँ ।’ उम्मेद्वार कँडेलले नीजि उद्योग, जलस्रोत, पर्यटनको विस्तार गरी सबै रोजगारीको व्यवस्था गरी बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नो उम्मेद्वारी भएको बताए ।
‘हिमाल, पहाड, तराई र मधेसका सबै नेपालीको स्वाभिमान र आत्म सम्मानको रक्षा गर्दै सम्वृद्ध नेपाल निर्माण गर्ने भन्ने हाम्रो एजेण्डा हो,’ उम्मेद्वार कँडेलले भने, ‘समग्र विकासका लागि हामीलाई भोट दिनुस् ।’ नेपालगन्जलाई मध्यश्चिमको औद्योगिक शहरका रुपमा विकास गर्ने बताउँदै उम्मेद्वार कँडेलले नेपालगन्जको ट्राफिक व्यवस्थापन, शौचालयको समस्या, डुवानको समस्या, खुला सीमाका कारण मौलाएको तस्करी र अपराधिकरण लगायतका साना विषयहरुलाई पूर्णरुपमा समाधानका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलवार ०२:३३