सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज औद्योगिक केन्द्र : एमाले अध्यक्ष ओली


बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्जलाई औद्योगिक केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । नेपालगन्जमा वाम गठबन्धनले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
निर्वाचन पश्चात बामपन्थीको सरकार बन्ने र त्यो सरकारलाई कसैले ढाल्न नसक्ने बताउँदै विकासका कामहरुले पनि तीव्ररुपमा अघि बढ्ने बताए । अध्यक्ष ओलीले सिक्टा सिँचाई आयोजनाको पूर्णतासँगै अन्य सिँचाई आयोजनाहरु पनि सञ्चालनमा ल्याउने उद्घोष गरे ।
अध्यक्ष ओलीले भने, ‘नेपालगन्ज विमानस्थललाई स्तरोन्नती गरी ठूला विमानहरु अवतरण गर्न सक्ने बनाइन्छ । तपाईहरु ढुक्क हुनुस् ।’ छोटो सम्बोधनका क्रममा विकास निर्माणमा भाषण केन्द्रीत गरेका ओलीले भेरी बबई डाइभर्सनलाई छिटै सम्पन्न गरी बाँके र बर्दियाको उत्पादनलाई बढाएर त्यसको बजारीकरण गर्ने बताए ।
‘हामीलाई मतदान गर्नुस्, स्थायी सरकार बन्छ । राप्तीका धेरै स्थानमा पक्की पुलहरु बन्छन् । हुलाकी सडकको निर्माण सम्पन्न मात्रै होइन, सबैखाले सडकहरुको स्तरोन्नती हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘अब निर्वाचन लगत्तै दुई वाम पार्टीबीच एकता हुन्छ, मुलुकमा विकासका नयाँनयाँ आयामहरु जुरमुर्राछन् ।’
आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले अब नेपालमा एउटै ठूलो कम्युनिष्ट पार्टी बन्ने दावी गरे । उनले भने, ‘आसन्न निर्वाचनपछि अब नेपालमा एउटा मात्रै नेपाल कम्युनिष्ट पार्टी बन्छ । त्यसले स्थीर सरकार र विकासलाई तीव्र बनाउँछ ।’
बरिष्ठ नेता बादलले मुलुकमा बेरोजगारीको समस्या अन्त्य हुने बताउँदै भने, ‘अब कोही विदेश र कोही स्वदेशमा विच्छेद जस्तो गरी बस्नुपर्दैन । परिवारबीचको यो विच्छेदलाई अबको सरकारले एक ठाउँमा ल्याइदिन्छ ।’ बर्दियाको चुनावी सभालाई सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता बादल नेपालगन्जको आमसभालाई सम्बोधन गरेर राजधानी फर्किएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार १३:०२