सूचनाको शक्ति - The Power Of Information

        

विकास पहिलो प्राथमिकता : वाम उम्मेद्वार


बाँके । वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ता नेपालगन्जको विकास र सुशासनयुक्त नगरका रुपमा विकास गर्ने बताएका छन् । उम्मेद्वारद्वयले बेरोजगार युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाई आयआर्जनमूखी बताउने प्रतिवद्धता जनाए । ‘विकासका कामहरुलाई पहिलो प्राथमिकतामा राखेर पाँच वर्षभित्र गर्ने कामहरुको खाका हामीसँग छ,’ प्रतिनिधिसभा उम्मेद्वार मिश्रले भने, ‘अल्पकालीन, दिर्घकालीन योजनाहरुको छनौट गरेर अघि बढ्ने हाम्रो लक्ष्य हो ।’
वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताएमा नेपालगन्जलाई उद्योग, पर्यटन र जडिबुटीको हबका रुपमा विकास गर्ने उनले बताए । ‘वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउँछ । उद्योगधन्दा, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका क्षेत्रहरुको विकासले फड्को मार्छ,’ प्रतिनिधिसभा उम्मेद्वार मिश्रले भने ।
प्रदेशसभा ‘ख’का उम्मेद्वार गुप्ताले विकासका कामहरुलाई तीव्ररुपमा अघि बढाउन वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले भने, ‘नेपालगन्जका सडक तथा भौतिक निर्माण, यातायात व्यवस्थापन, सूचना प्रविधि, सञ्चार, सहकारी विकास, कर तथा आर्थिक प्रणाली, सुशासन, उपभोक्ता हित संरक्षण र विविध क्षेत्रहरुलाई केन्द्रीत गरेर काम हुन्छ ।’
वाम गठबन्धनकोे नेपालगन्जमा पहिलो चरणको घरदैलो अभियान पनि सोमबार सकिएको छ । कात्तिक २८ गतेबाट नेपालगन्जको वडा नं. २ बाट सुरु गरेको घरदैलो अभियान नेपालगन्ज वडा नं. १ मा घरदैलो गरेर सकिएको छ ।
नेपालगन्ज १ को धम्बोझी आसपासका टोलहरुमा गरिएको घरदैलोमा समानुपातिक उम्मेद्वार तलत प्रविण अन्सारी, क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्साल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ०८:११