सूचनाको शक्ति - The Power Of Information

        

राईको चुनावी अभियानमा ‘सद्भावपूर्ण’ समिश्रण


बाँके । हातमा ठूलाठूला नेपाली झन्डा बोकेका एक लहरका युवायुवतिहरु । वृद्धवृद्धाहरु । सबै युवाहरु अनि वृद्धहरुको शीरमा नेपाली ढाका टोपी । चुनाव चिन्ह ‘मसाल’ अंकित झन्डाहरुसँग नेपाली झन्डा पनि बाक्लै देखिन्थे । यो लहर थियो, संघीय समाजवादी फोरम नेपालको चुनावी घरदैलोको दृश्य ।
बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगन्जको मुटु मानिएको धम्बोजी क्षेत्रमासंघीय समाजवादी फोरम नेपालले चुनावी घरदैलो गरेको थियो । ढाका टोपी अनि नेपाली झन्डा बोकेका सबै समुदायका युवायुवति, पाकाहरु, महिलाहरुले संघीय समाजवादी फोरम नेपाल, प्रतिनिधिसभा क्षेत्र नं. २का उम्मेदवार मोहम्मद इश्तियाक राई अनि प्रदेशसभाका उम्मेवार दुर्गेशकुमार बैश्यको कद निकै उँचो बनाइरहेका थिए ।
फोरमका उम्मेदवार राईको यो चुनावी अभियानमा एउटा समुदाय विशेषमात्रै होइन, पहाडी, मधेसी, मुस्लिम, थारुलगायत सबै समुदायको उत्तिकै उल्लासपूर्ण सहभागिता देखिँदै गएको छ । अरु दलहरुले राई मुस्लिम समुदायको उम्मेदवार भएको भन्दै जातीय र साम्प्रदायिक नारा उचालिरहेका बेलामा राईको चुनावी अभियानमा सबै समुदायको सहभागिता देखिएको हो । ‘सबैको आआफ्नो समुदाय हुन्छ, सबैको भाषा, धर्म आआफ्नै हुन्छ’ घरदैलोका क्रममा राईले भने ‘तर, म जाति, समुदाय र धर्मभन्दा माथि उठेर राजनीति गरेको मान्छे हुँ, मलाई अरु दलहरुजस्तो साम्प्रदायिक कुरा गरेर खोक्रो राष्ट्रवाद देखाउनुछैन ।


सबै समुदायको मलाई उत्तिकै सहयोग र समर्थन छ । म सबैलाई सम्मान गर्छु ।’ उनले एक समुदाय, जाति र धर्म, भाषाप्रति अर्काे समुदायको यही मेलमिलाप अनि सहिष्णुता र एकअर्काको सम्मानले नै बलियो राष्ट्रियता हुने बताए । ‘हामी सबै मिलेका छौँ, यो मिलेको समुदाय हो, मलाई सबैको सहयोग र साथ प्राप्त छ, त्यसैले अरु दलहरु आत्तिएका छन्’ राईले भने ‘अनि यो सद्भाव भाँड्न सबै लागेका छन् । तर, फोरमलाई प्राप्त भएको यो सबै समुदायको जनसमर्थनलाई हामी उच्च सम्मान गर्छाँै र सबै बर्गको उत्थान, हकअधिकारका लागि लड्नेछौँ ।’
उनले समग्र बाँकेवासीको विकास र समृद्धिको लागि आफूले उम्मेदवारी दिएको भन्दै सबैको यो साथले चुनाव जित्ने विश्वास पनि व्यक्त गरे । ‘मेरो अरु कुनै स्वार्थ पनि छैन, म यहीँ जन्मे, हुर्केको मान्छे हुँ चुनावको बेलामात्रै भोट माग्ने र हराउने उम्मेवादवार म हैन, म सधैँ यही क्षेत्रको जनसमुदायकै बीचमा हुनेछु’ उनले भने ‘क्षेत्र नं. २ अनि समग्र बाँकेवासीले फोरमप्रति देखाएको यो सद्भाव र सम्मान अनि समर्थनको गुण तिर्ने नै छु, त्यसका लागि यहाँहरुको अझैँ सहयोग र भोट चाहिएको छ, तपाईहरुकै सहयोगले मैले जित्नेछु भन्ने विश्वास छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ०१:३२