सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको पर्यटन, कैलाशपति महादेवको वरदान


कृष्ण अधिकारी/बाँके । यहाँ हामी यस्तो कथा लेख्न गइरहेका छौं जसमा एउटा ठाउँको भाग्य चम्किएको छ । हो, मानिसको जसरी नै कुनै पनि ठाउँको कुनै पनि बेला भाग्योदय हुन सक्छ, भाग्य चम्कन सक्छ । त्यसरी भाग्य चम्किएको ठाउँ हो, नेपालगन्ज । नेपालगन्जको भाग्यको तार अनायसै कैलाश मानसरोवरसँग जोडिन पुग्यो । त्यसपछि यहाँ पर्यटकको ओइरो लाग्न थालेको छ, धमाधम ठूला होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगन्ज माथि कैलाशपति महादेवको वरदान वर्षिएको छ । नेपालगन्जको भाग्य चम्किनुको अर्काे कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्धार पनि नेपालगञ्ज नै हो ।


यसरी फेरियो भाग्य
हुनत नेपालगन्ज अतितदेखि नै पश्चिम नेपालको सबैभन्दा ठूलो सहर, वाणिज्य तथा प्रशासनिक केन्द्र रहँदै आएको छ । द्धन्दकालमा पश्चिम पहाडी क्षेत्र अशान्त बनेपछि नेपालगञ्ज तथा आसपासमा ठूलो संख्यामा मानिस ओइरिए । पश्चिम नेपालमा शान्तिको प्रयास गर्ने अनेक संघसंस्थाले नेपालगञ्जलाई मुकाम बनाए । द्धन्दकालपछि नेपालगन्जको भाग्य अलि सुस्त भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । अवस्था फेरिनुको मुख्य कारण हो कैलाश मानसरोवर जाने भारतीय यात्रुहरुको रुट नेपालगन्ज बन्न थाल्नु । यहाँ भारतीय पर्यटकहरुको ओइरो लाग्न थालेको छ । कैलाश मानसरोवर जाने भारतीय तिर्थालुहरुको मुख्य रुटका रुपमा नेपालगन्जको भाग्य चम्कन थालेको हो । भारतीय तिर्थालुहरु विमानबाट काठमाडौं हुँदै नेपालगन्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरु रुपैडिया नाकाबाट नेपालगन्ज छिर्छन् । नेपालगन्जबाट यी तिर्थयात्रीहरु हुम्ला हुँदै मानसरोवर पुग्छन् ।
कैलाश मानसरोवर हिन्दू, वौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल हो । चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन । बेलाबखत हुने भारत र चीनको द्धन्दका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन् । त्यसैले भारतीय तिर्थालुहरुको रुट नेपाल हो र नेपालको पनि नेपालगन्ज हो । नेपालगन्जबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ । पछिल्लो कालमा नेपालमा छाएको शान्तिले पनि भारतीय तिर्थालुहरुको मानसरोवर जाने रुट नेपालगन्ज बनेको हो । शान्तिले समृद्धि ल्याउँछ भन्ने उक्ति यथार्थमा परिणत भएको महशुस नेपालगन्जवासीले गर्न थालेका छन् । नेपालगन्जलाई भारतीय तिर्थालुहरुले चुन्नुको अर्काे कारण हो भारतको दिल्ली र लखनउ हुँदै नेपालगन्ज पुग्ने सडक ६ लेनको बन्नु । भव्य सडक बनेपछि नेपालगन्जमा पर्यटक सँगै आर्थिक गतिविधिले पनि तिब्रता पाउन थालेको छ ।


भरिभराउ विमान, खचाखच होटल
मानसरोवर र रारा जाने पर्यटकको संख्या बढेसँगै नेपालगन्जमा होटल सहित अन्य पर्यटन व्यवसाय फस्टाएको बताउँछन् होटल एशोसिएसन अफ नेपाल (हान) नेपालगन्ज च्याप्टरका महासचिव सरोजकुमार चन्द । बैशाखदेखि असोजसम्म काठमान्डौ नेपालगन्ज हवाई उडानको संख्या दोब्बर हुने गरेको छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटा सम्म उडान हुने गरेको छ । बुद्ध र यति एयरले वर्षाैदेखि काठमाण्डौं नेपालगन्ज रुटमा उडान गर्दै आएका छन् । यो बर्षबाट सौर्य र श्री एयरले पनि काठमान्डौंबाट नियमित उडान थालेका छन् । पर्यटक आउँदाको स्वाद नेपालगन्जसँगै हुम्लाले पनि लिइरहेको छ । सिमिकोट गाउँपालिकाले मानसरोवर जाने भारतीय पर्यटकबाट प्रति व्यक्ति एक हजार एक सय रुपैयाँ सेवा शुल्क लिइरहेको छ । यो रकम सिमिकोटले पूर्वाधार विकासमा लगानी गरिरहेको छ ।


पर्यटक ओइरिँदै, होटल थपिँदै
कैलाश मानसरोवरलाई गन्तव्य बनाएर नेपालगन्ज आइपुग्ने भारतीय पर्यटक निकै स्तरीय छन् । स्तरीयको अर्थ हो खर्च गर्ने क्षमता भएका पर्यटक । यस्ता पर्यटकले तारे होटल खोज्छन् । यिनै भारतीय पाहुनाहरुलाई ध्यानमा राखेर नेपालगन्जमा धमाधम तारे होटलहरु थपिँदै छन् । पछिल्लो तीन बर्षमा सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रु जस्ता ठूला र सुविधा सम्पन्न होटल सहित करिब एक दर्जन साना होटल थपिएका छन् । नेपालगन्जका चर्चित होटलहरु सिद्धार्थ र स्नेहाले कोठा संख्या दोब्बर बनाएका छन । सोल्टी गु्रपले पनि सुविधा सम्पन्न होटल संचालनको तयारी गर्दैछ । नेपालगन्जसँगै जोडिएको सहर कोहलपुरमा पनि करिब ४० करोड रुपैयाँको लागतमा ८८ कोठाको सेन्टर प्लाजा होटल संचालन भएको छ । पर्यटक बढेपछि होटल व्यवसायीहरु पनि उत्साहित भएका छन् । उनीहरुले क्षमता मात्रै नभएर गुणस्तर पनि बढाएका छन् । नेपालगन्जका होटलहरुले दैनिक एक हजार पर्यटकहरुलाई स्तरीय आतिथ्य दिनसक्छन् ।


कति आए ?
गत बर्ष करिब नौ हजार भारतीय पर्यटक नेपालगन्जबाट हुम्लाको सिमिकोट हुँदै कैलाश मानसरोवर गएका थिए । यो वर्ष करिब १३ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । यी मध्ये करिब सात हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगन्ज आएका थिए । बाँकी यात्रु लखनउ रुपैडिया हुँदै आएका थिए । कैलाश मानसरोवर जाने करिब ६ हजार पर्यटकलाई सिद्धार्थ होटलले आतिथ्यता प्रदान गरेको होटलका प्रवन्धक केशव न्यौपाने जानकारी दिए । मानसरोवर जाने अधिकांश पर्यटक भारतको कर्नाटक, केरल, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्रका हुने गरेका छन् । नेपालमा शान्तिपूर्ण अवस्था कायम राख्न सकियो र पर्यटकीय पूर्वाधारहरु विकास गर्न सकियो भने पर्यटन क्षेत्रको विकास अझ तिब्र गतिमा हुनसक्ने सम्भावना नेपालगञ्जको उदाहरणबाट पनि देख्न सकिन्छ । विगतमा पश्चिमी मुलुकका पर्यटकहरुले मात्र समृद्धि ल्याइदिन्छन् भन्ने धारणा थियो, अहिले आएर के सिद्ध हुँदैछ भने भारतीय पर्यटकबाट पनि नेपालले मनग्ये फाइदा लिन सक्छ । आगामी दिनमा अझ धेरै संख्यामा भारतीय पर्यटक भित्राउने आशामा छ नेपालगन्ज । यो आशा यथार्थमा परिणत होस्, नेपालगन्जलाई हार्दिक शुभकामना ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ०१:२३