सूचनाको शक्ति - The Power Of Information

        

पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो


काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ । निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे । निर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ । प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने प्रमुख आयुक्त यादवले बताए ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् । निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आइतबारनै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काँडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुने भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:५३