सूचनाको शक्ति - The Power Of Information

        

एमाले अध्यक्ष वली, नेपालगन्ज आउँदै भोली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा वली नेपालगन्ज आउने भएका छन् । वाम गठबन्धनको नेपालगन्जको त्रिभूवन चौकमा हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष वली नेपालगन्ज आउन थालेका हुन् ।
क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालका अनुसार एमाले अध्यक्ष वली बर्दियामा हुने आमसभालाई सम्बोधन गरेर नेपालगन्ज आउने कार्यक्रम रहेको छ । त्रिभुवन चौकमा हुने चुनावी सभालाई भव्य बनाउन वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु लागि परेका छन् ।
यसैबीच, वाम गठबन्धनका उम्मेद्वार पशुपतिदयाल मिश्र र विजयकुमार गुप्ताले समाजसेवाका लागि उम्मेद्वारी दिएको बताएका छन् । नेपालगन्ज–१५, पिप्रहवा र जमुनाहा गाउँमा आइतबार घरदैलो गर्दै उम्मेद्वारद्वय मिश्र र गुप्ताले अरुहरु पैसा कमाउनका लागि उम्मेद्वार भए पनि आफूहरु विशुद्ध समाजसेवाका लागि चुनावमा होमिएको बताए ।
वाम गठबन्धन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेद्वार पशुपतिदयाल मिश्रले भने, ‘हामीलाई पैसा कमाउनका लागि सांसद हुनु छैन । व्यापार व्यवसायले नै घरखर्च चल्छ । विशुद्ध समाजसेवाका लागि मैले उम्मेद्वारी दिएको हुँ ।’ मिश्रले अब वामपन्थीको स्थायी सरकार हुने र त्यसले जिल्लाको विकासमा टेवा पु¥याउने प्रतिवद्धता गरे ।
सुख्खा बन्दरगाह, रिङ्गरोड, नेपालगन्ज विश्वविद्यालय, भेरी अञ्चल अस्पतालको स्तरोन्नती, अन्तर्राष्ट्रिय विमानस्थल लगायतका धेरै योजनाहरु आफूहरुले अगाडि सारेको मिश्रले बताए । ‘बाँके पछाडी पर्नुमा अहिलेसम्म सही नेतृत्व भएन,’ मिश्रले भने, ‘मलाई जिताउनुस्, मैले पाँच वर्षमा जिल्लाको विकासमा आमुल परिवर्तन गर्छु ।’
वाम गठबन्धन क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले विधायकको पारिश्रमिक गरिब, पिछडिएका वर्ग समुदायको विकासमा खर्च गर्ने बताए । ‘जमुनाहा हाम्रो मुख्य प्रवेशद्वार हो, पहिला यसको विकास गरेर भारतीय पर्यटकहरुका लागि प्रवेशद्वारका रुपमा चिनाउने लक्ष्य छ,’ उम्मेद्वार गुप्ताले भने, ‘दुई देशबीचको प्रवेशद्वारलाई व्यवस्थित र पर्यटनमैत्री बनाउनुछ ।’
स्थानीय नेता अक्रम अन्सारीले जात, धर्म, समुदायको पछाडि नलागेर विकास गर्नेलाई मत दिन गाउँबासीलाई आग्रह गरे । ‘आजसम्म धेरैले झुटो आश्वासन दिएर भोट लगे । अब त्यस्तो नगर्नुहोला । देशको विकास वाम गठबन्धनले गर्ने भएकाले यहिका उम्मेद्वारलाई जिताउनुस्,’ अक्रमले भने ।
घरदैलोमा जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक एवं समानुपातिक उम्मेद्वार दिनेशचन्द्र यादव, रुवी खाँन, तलत प्रविण अन्सारी, कलामुन अन्सारी, आदेश अग्रवाल, निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ्ग, निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्साल, पिप्रहवाका स्थानीय राकेश बर्मा लगायत नेता कार्यकर्ता सहभागि थिए ।

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार ०७:५९