सूचनाको शक्ति - The Power Of Information

        

सबै समुदायको अधिकारका लागि मेरो उम्मेदवारी : राई


बाँके । संघीय समाजवादी फोरम नेपाल, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तिायक राईले आफूले कुनै समुदाय विशेषको नभइ सबै वर्ग र समुदायको अधिकारका लागि उम्मेदवारी दिएको बताएका छन् । नेपालगन्ज नगर क्षेत्रभित्र चलिरहेको चुनावी घरदैलोका अभियानमा सक्रिय भइरहेका उनले यस्तो बताएका हुन् । ‘मलाई कुनै एउटामात्रै समुदाय विशेषको एजेन्डा बोकेको आरोप लगाएर अरुहरुले भड्काउन खोजेका छन्, यो मिलेर बनेको हाम्रो समाजमा मैले सबै समुदायको हक र अधिकारको लागि उम्मेदवारी दिएको हुँ,’ राईले भनेँ, ‘म मुस्लिम हुँ, तर, म एउटामात्रै समुदायको मुद्दा लिएर हिँडेको मान्छे होइन, मलाई मात्रै होइन, त्यस्ता सामन्ती मानसिकता भएकाहरुले हामीलाई हेपेर समाज भड्काउन खोजेका छन् ।’
उनले ठूला भनिएका राजनीतिक दलहरुले भाषा, धर्म अनि समुदाय र जातजातिको आधारमा राष्ट्रियता खोजिरहेको भन्दै त्यो भ्रमलाई चिर्नुपर्ने जरुरी भएको बताए । राईले हरेक जातजातिको भाषा, धर्म अनि रहनसहनको सम्मान नै राष्ट्रियताको बलियो आधार भएको बताए । ‘हामीलाई कसैले मुश्लिम भन्छन्, कसैले देशी, धोती, मधेसी भनेर हेपेर बोल्छन्’ राईले भने ‘यो सामन्ती मानसिकतालाई चिर्नका लागि मेरो उम्मेदवारी हो, म सबै समुदायको हक र हधिकारको लागि लड्नेछु ।’ राईले आगामी पाँच वर्षभित्रमा नेपालगन्जको मुहार फेरिने गरी काम गरेर देखाउने प्रतिवद्धता पनि मतदाता सामु गरे । ‘एक पटकमात्रै होइन, हामी फेरि पनि तपाईँहरुकै घरदैलोमा भोट माग्न आउनुपर्छ’ राईले भने ‘त्यसैले त्यो बेला तपाईँहरुले के के गरिस् भनेर सोध्नै पर्दैन, पाँच वर्षभित्रमा हामीले नेपालगन्जको मुहार फेर्नेगरी काम गर्नेछौँ ।’ क्षेत्र नं. २का सबै ग्रामीण वस्तीहरुमा चुनावी अभियान सकेर राईलगायतको फोरमको टोली अहिले नगरक्षेत्रमा सक्रिय भएको छ ।
राईका अनुसार यहाँका सबैजसो समुदायले उनलाई राम्रो समर्थन दिइरहेका छन् । शनिबार नेपालगन्ज ७ गगनगन्जको एउटा पहाडी समुदायमा एउटी ८० वर्षकी पहाडी मूलकी बृद्धाले उनलाई टिका र माला लगाइदिएर आर्शिवाद दिएकी थिइन् । उनले राईलाई जितेर आफूहरुको जस्तो झुपडीमा बस्नेहरुको दुःख पीडा सुनिदिन आग्रह गरिन् । ‘समुदायमा यो जातजाति अनि धर्म र भाषाको राजनीति छैन’ उनले भने ‘ठूला भनिएका राजनीतिक दलहरुले यसैमा राष्ट्रियता खोजेर फोहोरी राजनीति गरिरहेका छन् ।’ आइतबार डिएसपी रोड, समासानघाट, एमपी स्कूल, कसगर टोल, रामनगरलगायतका नगर क्षेत्रका विभिन्न क्षेत्रमा फोरमको घरदैलो कार्यक्रम भएको थियो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की समानुपातिक उम्मेदवार तारावती कुर्मी संघीय समाजवादी फोरममा प्रवेश गरेकी छिन् । शनिवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच संघीय समाजवादी फोरम नेपालका बाँके अध्यक्ष कमरुद्दीन राईले कुर्मीलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार ०२:०२