काठमाडौं । पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्याइसकिएको र बिहान सात बजेदेखि मतदान सुरु भएको आयोगले जनाएको छ । आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५०० सम्म मतदाता भएको केन्द्रमा १० जना र ५०० भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।
पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर १ मा ६२ जना, ३ मा ९७ जना, ४ मा ५० जना, ५ मा १४ जना, ६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९४५ जना मतदाता रहेको आयोगले जनाएको छ । २ हजार ९१९ मतदानस्थलमा ४ हजार ४६५ मतदान केन्द्र रहेका छन् ।
कुन प्रदेशमा कति मतदाता ?
प्रदेश नम्बर– १
पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुँदैछ । यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक एक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभाका लागि दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । दोश्रो चरणमा आउँदो २१ गते सात जिल्लाका २१ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७७४ जना मतदाता छन् । यसमध्य पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ७ लाख १९ हजार १७६ जना मतदाता रहेका छन् । दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा २२ लाख ७४ हजार ५९८ जना मतदाता छन् । प्रदेश नम्बर एकका १ हजार ८६१ वटा मतदान स्थलमा ३ हजार ७४३ वटा मतदान केन्द्र रहेका छन् । यी मध्ये ६९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुन लागेको हो ।
प्रदेश नम्बर–३
प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुँदैछ । प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुई दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् । यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३८४ मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् । प्रदेश तीनमा १ हजार ७८० वटा मतदान स्थलमा ३ हजार ७८५ वटा मतदान केन्द्र छन् । यीमध्ये ६०० मतदान स्थलका १ हजार २४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।
प्रदेश नम्बर–४
प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव भैरहेको छ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुईरदुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भैरहेको छ । यो प्रदेशमा जम्मा १५ लाख ६८ हजार ९२४ जना मतदाता छन् । यीमध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना र दोश्रो चरणमा चुनाव हुने क्षत्रमा १० लाख ५ हजार ९०० जना मतदाता रहेका छन् । प्रदेश नम्बर चारका १ हजार २४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ५७६ मतदान स्थलका ८१७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।
प्रदेश नम्बर–५
प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् । यो प्रदेशमा २७ लाख ४० हजार ८६४ जना मतदाता छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा १ लाख ५५ हजार ५५७ जना मतदाता छन् । यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३६८ वटा मतदान केन्द्र छन् । यसमध्य पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २०२ वटा मतदान केन्द्र छन् ।
प्रदेश नम्बर–६
प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव भैरहेको हो । यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९४१ जना छन् । यीमध्ये ३ लाख ६८ हजार २०७ जना पहिलो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । ५११ वटा मतदान स्थलमा ६०४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८९६ वटा मतदान स्थलमा १ हजार २४३ वटा मतदान केन्द्र छन् ।
प्रदेश नम्बर–७
प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव भैरहेको हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् । बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९४१ जना मतदाताले भोट हाल्न पाउने छन् । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १०९ वटा मतदान स्थलमा १ हजार ९०० वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ४२५ मतदान स्थलका ५७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।
।