सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ओजान गठन, अध्यक्षमा सुवेदी


बाँके । नेपालगन्जका अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित र डिजिटल सञ्चारको महत्वबारेमा सञ्चार उपभोक्तालाई जानकारी गराउने उद्देश्यले नेपलागन्जका अनलाइनकर्मीहरु संगठित भएका छन् । शनिबार नेपालगन्जमा भएको भेलाबाट रुद्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय अनलाइन जर्नालिस्ट एसोसियसन नेपालगन्ज (ओजान) गठन गरिएको हो । ओजानको सचिवमा काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण ओली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रेम केसी, किरण ढकाल, गोपी बुढा, सुरेन्द्र काफ्ले, गोबिन्द शर्मा र अर्जुन ओली चयन भएका छन् । टीएस ठकुरी र प्रभात देवकोटालाई सल्लाहकार चयन गरिएको ओजानका अध्यक्ष सुवेदीले जानकारी दिए । डिजिटल युगमा फस्टाउँदै गएको अनलाइन पत्रकारितालाई व्यवस्थित र विश्वसनिय बनाउँदै अनलाइनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ओजान गठन गरिएको बताउदै अध्यक्ष सुवेदीले भने, ‘अनलाईन पत्रकारिताको महत्व र प्रभावकारिताबारे पाठक र दर्शक र श्रोतालाई बुझाउँदै यसको विश्वसनीयता बढाउने उद्देश्यले पनि संगठित हुनुपरेको हो ।’
भेलामा सहभागी अनलाइन पत्रकारहरुले यहाँबाट सञ्चालित न्यूज पोर्टलहरुको विश्वसनीयता थप बढाउन चाल्नुपर्ने कदमबारे सुझाएका थिए । त्यस्तै अनलाईन पत्रकारहरुलाई नयाँनयाँ प्रविधिसँग साक्षात्कार होस् भन्ने उद्देश्यले समय समयमा क्षमता अभिबृद्धि तालिम गर्ने निर्णय पनि भेलाले गरेको छ । आगामी पुस महिनामा अनलाइन पत्रकारीताबारे सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया गर्ने निर्णय भेलाले गरेको अध्यक्ष सुवेदीले बताए ।
यहाँबाट सञ्चालन भईरहेका अनलाईनहरुलाई मर्यादित बनाउँदै आचारसंहिताभित्र रहेर काम गर्ने वातावरण बनाउन पनि ओजानले सक्रियता जनाउने भएको छ । ओजानमा आबद्ध अनलाईनहरुलाई व्यवस्थित र विश्वसनीय बनाउन जुनसुकै न्यूज पोर्टलले भुलबस वा नियतबस गल्ती गरेमा आन्तरिक कारबाही गर्नेसम्मको अधिकार समितिलाई दिइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार १०:५८