सूचनाको शक्ति - The Power Of Information

        

जनतालाई हामीलाई नै रोज्नुहुन्छ : उम्मेद्वार कँडेल


बाँके । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तेजनारायण कँडेलले नेपाली जनता राष्ट्रवादी भइसकेकोले राष्ट्रवादी पार्टीलाई नै रोज्ने बताएका छन् । सत्यपाटीसँग कुरा गर्दै एकीकृत राप्रपा राष्ट्रवादीका प्रवक्तासमेत रहेका कँडेलले भने, ‘हाम्रो पार्टी राष्ट्रको सच्चा पहरेदार भएकाले जनतालाई हामीलाई नै रोज्नुहुन्छ ।’
बाँकेको विकास र सम्वृद्धिका लागि विकासका योजना तयार पारेको बताउँदै उम्मेद्वार कँडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफु र आफ्नो पार्टीका लागि मतदान गरी विजयी गराउन आह्वान गरेका छन् । ‘ठूला दलहरुले अहिलेसम्म मुलुकलाई उँधोगतितर्फ मात्रै धकेलेका छन् । हामीले मुलुकलाई सही दिशातर्फ लैजानेछौँ । यसका लागि हामीलाई रोजेर मतदान गर्नुस्,’ उम्मेद्वार कँडेलले भने ।
सनातन हिन्दूराष्ट्रको स्थापना, राजासहितको लोकतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका चुनावी नारा बोकेर जनता र मतदाताको घरदैलोमा पुग्दा न्यानो स्वागत पाएको बताउँदै उनले भने, ‘मतदाताहरुमा हाम्रो पार्टीप्रति निकै भरोसा र विश्वास छ । उहाँहरुले हामीलाई मतदान गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । घरदैलोका क्रममा मतदाताहरुले उत्साहपूवर्र्क हामीलाई मतदान गर्ने विश्वास दिलाउनुभएको छ ।’ यसैबीच, पार्टीका नेता कार्यकर्तासहित शुक्रबार एकीकृत राप्रपा राष्ट्रवादीले उम्मेद्वारसहित नेपालगन्ज वडा नं. १ र ९ मा घरदैलो सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ०७:१७