सूचनाको शक्ति - The Power Of Information

        

रोजगारका लागि भारत जाने युवा भन्छन्, केही नगर्ने नेतालाई भोट दिन किन कुर्ने ?

डोटी । गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तरखरमा छन् । बोगटान गाउँपालिका– ७ उमडीका काले दमाई बिहीबार भारत जाँदै गर्दा दिपायलमा भेटिए । निर्वाचनबारे जानकार उनी मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउँछन् । २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आएका उनी अहिले पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्छन् । ४४ वर्षीय दमाईले आफ्नो जीवनकालमा एकपटक मात्रै मतदान गरेको बताए ।
‘भोट केका लागि दिने ? नेताहरु भन्छन् मात्रै गर्ने केही होइन,’ उनले भने, ‘उसै पनि यो मेरो जाने समय नै हो। उता छुट्टी पनि छैन। केही नगर्ने नेतालाई भोट दिन किन कुर्ने ?’ बरु भारत गएर दुई चार दिन बढी काम गरे आम्दानी हुने बताउँछन् उनी । उनीसँगै भारत जान लागेका सोही ठाउँका चार अरु युवामध्ये कमल बोहरा पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आएका छन् । आफू अनपढ भएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमै निर्भर हुनुपरेको उनको भनाइ छ । ‘नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही नहुने भएकाले गर्दै आएको नोकरी बचाउन समयमै जान लागेको हुँ,’ उनले बाध्यता सुनाए, ’ढिलो गरे साहुले जागिरबाट निकालिदिन्छ ।’

हिउँदमा विदेशिने धेरै

सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो व्यक्ति कामको खोजीमा भारत जाने गर्दछन् । कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेतीकिसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् । प्रायजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन् । ती युवा मौसमअनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन् । दशैँतिहार मनाउन आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि भारत जाने समय हो । केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन् । अहिले भारत जाने युवाको दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघ बुकिङ काउण्टर दीपायलमा कार्यरत भोजबहादुर शाहीले बताए । उनका अनुसार अहिले दैनिक २५–३० जनाभन्दा बढी यात्रु भारत जाने गरेका छन् । रासस

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ०६:५५