सिराज खान/बाँके । बाँकेको गनापुरमा संचालनमा रहेको जय बागेश्वरी सिमेन्ट उद्योगले ३० करोड रुपैयाँको लगानी थप गरेर ओपीसी सिमेन्टको उत्पादन शुरु गरेको छ । यसअघि ५० करोडको लागतमा संचालनमा रहेको सो उद्योगमा पीपीसी सिमेन्ट मात्रै उत्पादन हुँदै आएकोमा अबदेखि ३० करोड लगानी बढाएर कुल लगानी ८० करोड पुरयाई ओपीसी सिमेन्टको समेत उत्पादन शुरु गरिएको चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानले बताएका छन् ।
ओपीसी सिमेन्टको युनिट संचालनमा ल्याईएपछि उद्योगको क्षमता दोब्बर बढी बृद्धि भएको जनाउँदै ग्रुपका अध्यक्ष चाचानले हालसम्म पीपीसी सिमेन्टको एक युनिट मार्फत दैनिक ९ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा अबदेखि दैनिक २० हजार बोरा उत्पादन गर्ने बताए । हालसम्म सो उद्योगले बार्षिक १५ लाख बोरा सिमेन्ट बिक्रि गर्दै आएकोमा यस बर्षबाट बार्षिक ३० लाख बोरा सिमेन्ट बिक्रि गर्ने लक्ष्य निर्धारण गरेर बजार ब्यबस्थापनमा लागेको चाचान ग्रुपका प्रबन्ध निर्देशक निशान्त चाचानले बताए ।
उनले जयबागेश्वरी सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको गुणस्तर भारतीय सिमेन्टभन्दा पनि उत्कृष्ट रहेको र पश्चिम नेपालका उपभोक्ताले साहै्र मन पराएर माग बढ्दै गएकोले नै उद्योगको क्षमता बृद्धि गरिएको जनाए । करिब ३ बर्षदेखि बाँके जिल्लामा उद्योग संचालन गरेर उत्पादन शुरु गरिएको जनाउँदै प्रबन्ध निर्देशक चाचानले सिमेन्टको माग अत्याधिक रहेकोले नै आफुहरु उत्साहित भएको बताए । विगतभन्दा हालको समयमा बिद्युतको समस्या पनि धेरैहदसम्म समाधान भएकोले उत्पादनमा समेत कुनै अवरोध नभएकोले उद्योगमा लगानी बढाउने हौसला प्राप्त भएको उनको भनाई छ ।
केही बर्ष पहिलेसम्म भारतीय सिमेन्टकै मात्र वर्चस्व रहेको बाँके, बर्दिया, सुर्खेत, धनगढी, महेन्द्रनगर र यस क्षेत्रका अन्य स्थानमा अहिले आएर भारतीय सिमेन्ट बिस्थापित भै नेपाली सिमेन्टले सो स्थान लिई सकेको जयबागेश्वरी सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सुमन श्रेष्ठले बताए । उनले बाँकेमा यो उद्योग स्थापनापछि बाँके जिल्ला यस क्षेत्रकै ठुलो आर्थिक हब बन्ने कुरालाई सहयोग पुगेको जनाउँदै सो उद्योगमा यस जिल्लाका करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । पश्चिम नेपालका उद्योग स्थापना गर्ने वातावरण र स्कोप दुबै निकै राम्रो रहेको जनाउँदै चाचान ग्रुपले निकट भविष्यमै बाँकेमा फलामे छड उद्योग संचालन गर्ने तयारी गरेको जानकारी पनि सो ग्रुपले दिएको छ । त्यसका लागि प्रारम्भिक तयारी तिव्रगतिमा भैरहेको चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानको भनाई छ ।
उनले राजनितिक स्थिरता आयो भने यो क्षेत्र देशकै प्रमुख आर्थिक हब बन्ने प्राय निश्चित भएको जनाउँदै यहाँ लगानी गर्ने थुप्रै ब्यापारीहरु आउन लागेको बताएका छन् । उद्योग र कलकारखानाका लागि पूर्वभन्दा पनि पश्चिममा सहज र सरल रहेको उनले जनाए । यसैविच नेपालगन्ज उद्योग बाणिज्य संघले पनि जयबागेश्वरी सिमेन्टले ओपीसी सिमेन्टको उत्पादन शुरु गरेकोमा खुशी ब्यक्त गर्दै यसले बाँके जिल्लालाई आर्थिक राजधानी बनाउन सहयोग गर्ने जनाएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले ठुला ठुला उद्योगमा लगानी थप भएर उत्पादन क्षमता बृद्धि हुनुबाट यो क्षेत्रको भविष्य राम्रो रहेको संकेत गरेको बताए ।
।