सूचनाको शक्ति - The Power Of Information

        

स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ : पोख्रेल


बाँके । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक स्थायीत्व र स्थायी सरकारले देशको विकास गर्न सक्ने बताएका छन् । ‘हाम्रो देशमा भएका ठूलाठूला आन्दोलन व्यवस्था फेरे पनि अवस्था फेर्न सकेन, पोखरेलले भने, ‘अब स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ ।’
संयुक्त निर्वाचन परिचालन कमिटी उद्योग व्यवसाय संगठनले नेपालगन्जमा आयोजना गरेको समृद्ध नेपाल निर्माणका लागि बृहत व्यवसायिक भेला एवं अन्तरक्रियामा बोल्दै उनले अब देशको विकासका लागि जागीर होइन, उद्यमशील र आर्थिक क्रियाकलापकै बढोत्तरी गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वाम गठबन्धनका उम्मेदवारहरुले नेपालगन्जलाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता गरेका छन् । वाम गठबन्धनका उम्मेदवार, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरुले नेपालगञ्जलाई आर्थिक राजधानीको रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीको हव बनाएर नेपालगन्जलाई आर्थिक विकासको राजधानी बनाउन सकिने सम्बद्धहरुले बताएका छन् । वामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेशसभा ‘क’ का उम्मेदवार कामता खटिक र प्रदेशसभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले पूर्वाधारको विकासमा अगाडि रहेको नेपालगन्जलाई अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकीय, शिक्षा र स्वास्थ्यको हब बनाउँदै उद्योग धन्दालाई अगाडि बढाई रोजगारी सिर्जना गरी आर्थिक राजधानी बनाउन सकिने बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्वअध्यक्षहरु दामोदर आचार्य, सतिशकुमार अग्रवाल, प्रतिष्ठित व्यापारी प्रदीप छाजेड, भाष्कर काफ्लेले नेपालगन्ज विश्वविद्यालय, आइटी कलेज, औद्योगिक क्षेत्र बिस्तार, सुख्खा बन्दरगाह, बहुउद्देश्यीय सभागृहहरु बनाएर नेपालगन्जको विकासलाई अगाडि बढाउन सकिने बताए । यी सबै कामहरु गर्नका लागि स्थायी सरकारको आवश्यकता पर्नेमा सबैको जोड थियो ।
पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, निवर्तमान सांसद दिनेशचन्द्र यादवले नेपालगन्जको विकासका लागि वामपन्थी सरकार आवश्यक रहेकोमा जोड दिइन् । वाम गठबन्धनलाई नेपालगन्ज उद्योग बाणिज्य संघको टिमले न्यानो स्वागत गरेको छ । कार्यक्रममा उपस्थित भएर संघमा रहेका पदाधिकारीहरुले वामगठबन्धनको जीतका लागि शुभकामना दिएका छन् । यसैबीच, बृहत व्यवसायिक भेलामा राप्रपाका जिल्ला सदस्य एवं नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता अभय बस्नेत, राप्रपाका अब्दुल करिम खाँ, सगिर खाँ र फोरमका मिसवाउल हक वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ०२:१५