सूचनाको शक्ति - The Power Of Information

        

सीमानाकामा नेपाली र भारतीय सुरक्षाकर्मीको निगरानी


बाँके । नेपाल र भारतका सुरक्षाकर्मीले सीमानाकामा सुरक्षा सतर्कता बढाएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरि दुवै देशका सुरक्षाकर्मीले सीमानाकामा सुरक्षा सतर्कता बढाएका हुन् । दुवै देशका सुरक्षाकर्मीले नाकामा आउजाउ गर्ने माथि निगरानी बढाउनुका साथै दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती बढाएका हुन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता बढाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।
सीमा पारीबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय भारतीय सशस्त्र सीमा बल (एसएसबी), सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा सतर्कता बढाएको उनले बताए । सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्नसक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको तामाङले बताए ।
सशस्त्र प्रहरी बल (बीओपी) कालाबञ्जरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्शीपुर्वा एसएसबी क्याम्पका इन्चार्ज अरबिन्द कुमारको नेतृत्वमा ७–७ जनाका दरले २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताए । बुधवार पहिलो चरणमा सीमा स्तम्भ नम्बर २६–१ देखि २७–१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार ०४:२३