सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको विकास र सम्वृद्धिका लागि प्रतिवद्ध छु : राई


बाँके । संघीय समाजवादी फोरम नेपाल, बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले समग्र नेपालगन्जको विकासका लागि विभिन्न प्रतिवद्धताहरु व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेका राईले मतदातासँग समग्र बाँके र बाँकेवासीको विकास समृद्धिका लागि प्रतिवद्धताहरु गरेका हुन् । बुधबार क्षेत्र नं. २ का बेतहनी, बाबागाउँ, बासपुरवा, खलीपुरवा, बडी बेतहनी लगायतका टोलहरुमा फोरमको घरदैलो भएको थियो । त्यसक्रममा स्थानीयले गाउँटोलको विकासका लागि उम्मेदवारसँग माग गरेका थिए ।


राईले बाँकेको समग्र विकासका लागि यहाँको, स्वास्थ्य, शिक्षा, रोजगार, यातायातलगायतका सेवालाई जनस्तरसम्म पु¥याउनका लागि फोरमले स्पष्ट कार्यदिशा बनाएको बताए । ‘समग्र बाँके र बाँकेवासीको विकास र संमृद्धिको लागि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘तपाईँहरुको विश्वासलाई खेर जान दिन्नँ, म हरपल नै तपाइँहरुकै बीचमा बसेर, तपाईँहरुकै समस्या समाधानका लागि लड्ने मान्छे हुँ ।’ बाँकेवासी तथा वरिपरिका जिल्लाहरुलाई समेत राहत हुनेगरी भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा विकास गरिने बताए । यसले यहाँको समग्र स्वास्थ्य क्षेत्रलाई निकै राहत हुने र, गाउँगाउँमा डाक्टर, नर्सलगायत स्वास्थ्य जनशक्ति उत्पादन हुने बताए ।


‘ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई समेत सहज स्वास्थ्य सेवा पु¥याउनका लागि यहाँ एउटा सरकारी मेडिकल कलेजको आवश्यकता छ, त्यसका लागि म लागिपर्नेछु,’ उनले भने । त्यस्तै उनले, प्रदेश नं ५ को राजधानी नेपालगन्जमा बनाउन पहल गर्ने, नेपालगन्ज विश्वविद्यालय खोल्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने, नेपालगन्जमा चक्रपथ बनाउने, हुलाकी सडकको कामलाई गति दिने, राप्ती नदीमा आवश्यक ठाउँहरुमा थप पुल निर्माण गर्ने, भेरी अन्चल अस्पताललाई सरकारी मेडिकल कलेज बनाउने, क्षेत्र नं. २ लाई लोडसेडिङ मुुक्त गर्ने, ग्रामिण जनतासम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, युवाहरुको स्वास्थ्य र सृजनशिलताका लागि खेलकूदका पूर्वाधार तयार गर्ने, नेपालगन्ज हुँदै आवतजावत गर्ने पर्यटकहरुलाई केही दिन होल्ड गराउन आवश्यक पूर्वाधार निर्माण गर्ने, नगर र डुडुवा गाउँपालिकाको सडक स्तरोन्नती गर्ने, बाढीपीडितहरुलाई स्थायी बसोबासको प्रबन्ध मिलाउन पहल गर्ने, बेरोजगार युवाहरुका लागि रोजगारी सृजना गर्ने, किसानहरुका लागि आवश्यक सिँचाईको प्रबन्ध मिलाउनेलगायतका प्रतिवद्धताहरु पनि उनले घरदैलोका क्रममा मतदाताहरुसँग गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार ०३:०६