सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज पर्यटकीय हव : वाम उम्मेद्वार (फोटोफिचर)


बाँके । नेपालगन्जलाई मध्यपश्चिमको पर्यटन क्षेत्रको हव बनाउन आफूहरुको उम्मेद्वारी रहेको वाम गठबन्धनका उम्मेद्वारहरुले बताएका छन् । बाँके क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्रले नेपालगन्ज उपमहानगरपालिका–१० का मतदाताहरुसँग बुधबार मत माग्दै नेपालगन्जलाई पर्यटकीय हवका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, मानसरोवर, रारा लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरुलाई नेपालगन्जमा केहीदिन होल्ड गर्न सकिने गरी यस क्षेत्रको विकास गर्नेछु ।’ उनले पर्यटनसँगै संघीय प्रदेशको आर्थिक राजधानीका रुपमा नेपालगन्जलाई विकास गरेर लैजाने प्रतिवद्धतासमेत गरे ।
‘बाँके जिल्लाको भविष्य अत्यन्तै राम्रो छ,’ उम्मेद्वार मिश्रले भने, ‘यो पुरानो र ऐतिहासिक शहर पनि हो । यसलाई ट्रान्जिट गरेर अन्यत्र जिल्लामा जाने पर्यटकहरुलाई यहाँ होल्ड गर्न सकियो भने जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । यसका लागि पर्यटन गुरुयोजना गरुरी छ ।’


बाँके क्षेत्र नं. २ ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जलाई मध्यपश्तिमकै केन्द्रविन्दु बनाएर आर्थिक सम्वृद्धिको ढोका खोल्न वाम गठबन्धनले जित्नैपर्ने दावी गरे । भारतको रुपौडियासँग जोडिएको नेपालगन्ज–कोहलपुर कोरिडोरमा ठूला लगानीका उद्योगहरु सञ्चालन गर्नुका साथै बाँकेलाई औद्योगिक शहरका रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको उम्मेद्वार गुप्ताले बताए ।
‘नेपालगन्ज जडिबुटीजन्य उद्योगको पनि हव हो । यहाँ जडिबुटी प्रशोधन गर्ने केन्द्र छैन । उद्योग सञ्चालनका लागि हामीले प्रतिवद्धता पनि व्यक्त गरिसकेका छौँ,’ उम्मेद्वार गुप्ताले भने, ‘जडिबुटी उत्पादनका लागि मध्यपश्चिमको पहाडी तथा हिमाली भेग अग्रणी भएकाले जडिबुटीजन्य उद्योगको हवका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए ।’
उत्साहपूर्वक मतदातासहितको उपस्थितिमा भइरहेको घरदैलोमा संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. २ निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक रविन्द्र लम्साल, सहसंयोजक एवं समानुपातिक समानुपातिक उम्मेद्वार आदेशकुमार अग्रवाल, सचिव दत्तप्रसाद आचार्य, समानुपातिक उम्मेद्वार तलत प्रविण अन्सारी लगायत वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०९:२१