सूचनाको शक्ति - The Power Of Information

        

‘हामीलाई जिताउनुस्, बाँकेको विकासमा कायापलट’


बाँके । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेद्वार युवा नेता तेजनारायण कँडेलले बाँके जिल्लाको समग्र विकासका लागि आफ्नो पार्टीलाई भोट दिनुको विकल्प नभएको बताएका छन् । चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका कँडेलले अरुले राजनीतिक दलले जनतालाई आश्वासन मात्रै दिने गरेको आरोप लगाउँदै भने, ‘हाम्रो पार्टीलाई भोट दिनुस्, समग्र बाँके जिल्लाको कायापलट हुन्छ ।’
कँडेलको प्रचारका लागि अध्यक्ष पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी समेत नेपालगन्ज पुगिसकेका छन् । पार्टीका नेताहरु कृष्ण खरेलसहितको समुहमा प्रचारात्मक अभियान सञ्चालन गर्दै आएका युवा नेता कँडेलले अभियानका क्रममा मतदाताबाट पाएको हौसला र मायाले आफु उत्साहित भएको बताए । उनले सबै जातजातीका राष्ट्रवादी जनताले आफुलाई अभियानकाक्रममा मतदान गर्ने बताएको बताए ।
‘हामीले लिएका एजेण्डाहरुले अधिकांश मतदाताहरुको मत जितेको छ । यसपटक जनताले हामीलाई विश्वास गर्ने पक्का छ,’ कँडेलले भने, ‘अहिले बाँके जिल्ला अभिभावकविहीन भएको छ । बाँकेबासीका मनहरु तोडिएका छन् । हामीले बाँकेबासी मात्र नभएर समग्र नेपालीका तोडिएका मनहरुलाई जोड्ने गरेका छौँ । जनताको अपेक्षा पनि चार कुनाभित्रको हलोमा मतदान गर्नुपर्छ भन्ने छ ।’
आफ्नो क्षेत्रका अधिकांश मतदातासँग भेटघाटका क्रममा विकास निर्माणको माग गरेको बताउँदै कँडेलले भने, ‘नेपालगन्जको विकासका लागि आफु सदैव क्रियाशिल रहने प्रतिवद्धता समेत गरेको छु । निर्वाचन जितेपछि मैले जनाएका प्रतिवद्धता पूर्णरुपमा कार्यान्वयन हुनेछन् ।’ बाँके क्षेत्र नम्बर २ लाई एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले पनि उच्च महत्वका साथ लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०५:४२