सूचनाको शक्ति - The Power Of Information

        

मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनोट


मकवानपुर । मकवानपुर जिल्लाका ७ गाविसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । २० महिला उद्यमी मध्येबाट १० जना उद्यमीलाई उत्कृष्ट छनोट गरिएको हो । अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्र, मकवानपुरले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि मकवानपुर जिवनस्तर पुनर्निर्माण कार्यक्रम अन्तरगत १० उत्कृष्ट महिला उद्यमी छनोट गरिएको हो ।
मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्रको सहकार्यमा दायित्व ग्रामीण उद्यम प्रवद्र्धन कार्यक्रम अन्तगरत महिला उद्दमी छनोट गरिएको हो । छनोट कार्यक्रममा नागरिक समाज, पत्रकार, उद्यमी, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रसरोवर गाँउपालिका–१ का वडाध्यक्ष जमन सिंह वाइवाले अहिले नेपालबाट धेरै युवा विदेशिएको अवस्थामा महिलाहरूले स्थानीय समुदायमा उद्यम चलाएको भन्दै खुशी व्यक्त गरे । उद्यमी महिलाहरूलाई उद्यम बढाएर लक्ष्य पूरा गर्न उनले शुभकामना दिए ।
नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामीण उद्दम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जिवन र समुदायमा आधारभूत परिवर्तन ल्याउनुका साथैं उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा सफलताका लागि निर्देशित गर्छ । दायित्वले विगत २०१४ वर्षदेखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामीण उद्यम प्रवद्र्धन कार्यक्रम कार्यन्वयन गर्दै आइरहेको छ ।
सेप्टेम्बर २०१७ मा नेपाल लिडरसीप एकेडेमीले मकवानपुरमा दायित्व ग्रामीण उद्यम प्रवद्र्धन कार्यक्रमको सुरुवात गरेको थियो । यस कार्यक्रममा चित्लाङ, फखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटार गरी मकवानुरका सात गाविसका कृषि, पशु, ब्युटी पार्लर तथा सिलाईकटाई ब्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीहरुले आवेदन बुझाएका थिए । प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० उद्यमी छनोट गरियो र उनीहरुलाई वित्तिय साक्षरता तालिम प्रदान गरिएको थियो ।


दोस्रो चरण अन्तरगत उत्कृष्ट २० उद्यमीको छनौट गरी व्यवसाय साक्षरता तालिम प्रदान गरिएको थियो । तेस्रो एवं अन्तिम चरण अन्तरगत तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यममै गएर प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मूल्यांकनका आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको छ । छनौटमा परेका उद्यमीहरुलाई दुईदिनको नेतृत्व विकास तालिम प्रदान गरिने छ । उत्कृष्ट १० उद्यमीले अनुदान, प्राविधिक तालिम र व्यवसायीक परामर्श पनि प्राप्त गर्नेछन् । नेपाल लिडरसीप एकेडेमीले यस कार्यक्रममार्फत विकासोन्मूख लघुउद्यमीहरुको पहिचान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन गर्न आवश्यक प्राविधिक सहयोग प्रदान गर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलवार ०९:११