सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ३५ मतदान केन्द्र अति संवेदनशील, १०१ संवेदनशील


बाँके । बाँकेमा आगामी मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तोकिएका ३२७ मतदान केन्द्रमध्ये ३५ वटा अति संवेदनशील रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्तराज अधिकारीका अनुसार १०१ वटा मतदान केन्द्रलाई संवेदनशील तोकिएको छ । निर्वाचनका लागि बाँकेमा कुल १३६ मतदान स्थलमा ३२७ वटा मतदान केन्द्र तोकिएको क्षेत्रीय निर्वाचन अधिकारी अधिकारीले जानकारी दिए ।
अधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई सुरुमा सच्चाउन निर्देशन दिने र अटेर गरेमा कारवाही गर्ने नीति रहेको बताए । आचारसंहिता पालनामा एउटाले उल्लंघन गरेमा अर्कोले हामी पनि उल्लंघन गर्छाैं भन्ने सूचना आउने गरेको छ, अधिकारीले भने, ‘आचारसंहिता पालनामा बालहठ देखिएको छ ।’ उनले स्थानीय तहको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा हालसम्म आचारसंहिता उल्लंघनका घटना न्यून भएको बताए । निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संघसंस्था समेत बाँकेमा सम्पर्कमा आएको उनको भनाई छ ।
बाँकेका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश विष्णु सुवेदीले निर्वाचनको आचारसंहिता पूर्णपालनाका लागि सम्वद्ध सबै पक्षसँग अनुरोध गरिएको बताए । उनले मतदान गर्न पाउने नागरिकको अधिकार भएको भन्दै यसमा सबै पक्ष सहयोगी हुनुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले निर्वाचन शिक्षामा बिशेष ध्यान दिन सम्वद्ध पक्षको ध्यानाकर्षण गराए । मतदानका दिनमा सबै मतदातालाई मतदानस्थलसम्म पुग्नका लागि आयोगले सवारी सधान सञ्चालन गर्नुपर्ने उनले माग गरे । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलवार ०७:३९