सूचनाको शक्ति - The Power Of Information

        

‘अरुले सपनामात्रै देखाउँछन्, हामी कार्यान्वयन पनि गर्छौ’


निर्वाचनका समयमा बाँकेको क्षेत्र नं. २ सधैँ चर्चामा रहने क्षेत्र हो । विगतमा सुशील कोइरालाका कारण चर्चामा रह्यो । यही मंसीर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । बाँकेका अरु क्षेत्रभन्दा यस क्षेत्रमा सबैको चासो र ध्यान खिचिएको छ । विभिन्न दलका उम्मेद्वारहरु जीतलाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का प्रवक्ता एवं बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार तेजनारायण कँडेलले अन्य ठूला दलका उम्मेद्वारलाई हराएरै छाड्ने दावी गरिरहेका छन् । निर्वाचनकै सन्दर्भमा सत्यपाटीले प्रवक्ता कँडेलसँग गरेको कुराकानी :

चुनावी अभियान कस्तो चलिरहेको छ ?

– एकदमै उत्साहपूर्ण छ । कार्यकर्ताहरुसँगको भेटघाटसँगै पार्टीका घोषणा पत्रमार्फत हाम्रा विकासका एजेण्डाहरु जनताका बीचमा प्रस्तुत गरिरहेका छौँ ।

देशको विकासका लागि तपाईका पार्टीका एजेण्डा के हुन् ?

हामीसँग पाँच वटा स्पष्ट एजेण्डा छन् । पहिलो, बौद्ध, मुस्लिम, किराँत लगायतका सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ । दोस्रो, राष्ट्र प्रमूख राजसंस्था र प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचन गराउनुपर्छ । तेस्रो, भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नुपर्छ । चौथो, नीजि उद्योग, जलस्रोत, पर्यटनको विस्तार गरी सबै नेपालीलाई रोजगारको व्यवस्था गर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । पाँचौ, हिमाल, पहाड, तराई र मधेसका सबै नेपालीको स्वाभिमान र आत्म सम्मानको रक्षा गर्दै सम्वृद्ध नेपाल निर्माण गर्ने भन्ने हाम्रा प्रमूख एजेण्डा हुन् ।


बाँके जिल्लाको सम्वृद्धिका लागि तपाईका एजेण्डा के छन् ?

– मध्यपश्चिमको प्रमूख सहर हो, नेपालगन्ज । हामीले काँग्रेस, एमाले, माओवादीको जस्तो ठूला सपना देखेका छैनौँ । सानो चिजबाट सुरुवात गर्छौ । हामीले नेपालगन्जको ट्राफिक व्यवस्थापन, शौचालयको समस्या, डुवानको समस्या, खुला सीमाका कारण मौलाएको तस्करी र अपराधिकरण लगायतका साना विषयहरुबाट काम सुरु गर्छौ । हुलाकी सडक छिटो कालोपत्रे गर्नका लागि पहल गर्छौ । त्यस्तै ग्रामीण विद्युतिकरणलाई तत्काल पूर्णता दिने हाम्रो योजना हो । यी अरु दलहरुले जस्तो हामीले ठूला समपना देखाउने र कार्यान्वयन नगर्ने हुँदैन । अरुले सपनामात्रै देखाउँछन् । हामी कार्यान्वयन पनि गर्छौ ।

तपाईको उम्मेद्वारी किन र तपाईलाई भोट किन दिने ?

– बाँकेको समग्र विकासका लागि हामीलाई भोट दिनुपर्छ । हिन्दुत्व, युवा रोजगारका लागि हाम्रो विकल्प छैन । अहिले बाँके जिल्ला अभिभावकविहीन भएको छ । बाँकेबासीका मनहरु तोडिएका छन् । हामीले बाँकेबासी मात्र नभएर समग्र नेपालीका तोडिएका मनहरुलाई जोड्ने गरेका छौँ । जनताको अपेक्षा पनि चार कुनाभित्रको हलोमा मतदान गर्नुपर्छ भन्ने छ ।

देश धर्मनिरपेक्षतामा गइसकेका बेला हिन्दु राष्ट्र घोषणा सम्भव छ ?

– नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दु छन् । ओमकार परिवार गरेर हिन्दु धर्मावलम्बीहरुको संख्या ९४ प्रतिशत हुन्छ । यसकारण पनि यो सम्भव छ । हाम्रो पार्टीको आधिकारिक धारणा भनेकै संविधान संशोधनमार्फत हिन्दु राष्ट्र घोषणा गर्नु हो । अर्को कुरा २०६२÷०६३ को जनआन्दोलनको एजेण्डा धर्मनिरपेक्ष र राजतन्त्रका हटाउने मुद्दा लेखाजोखा नगरी आएको मुद्दा हो ।

जनताको आन्दोलनबाट हटाइएको राजतन्त्र पुनःवहाली सम्भव छ ?

– राजतन्त्र हिमाल, पहाड र तराईलाई जोडेको संस्था हो । अहिले जनताले राजतन्त्र चाहिन्छ भन्ने कुराको आवश्यकता र महसुस गरिरहेका छन् । राजसंस्था हुँदा मुलुकमा स्थायीत्व र विकासका धेरै काम भएका छन् । गणतन्त्र आएपछि नेपालमा खुलेआम बाह्य आक्रमण भएको छ । त्यसकारण पनि राजसंस्था जरुरी छ । र, यो नेपालमा पुनःस्थापित भएरै छाड्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलवार ०७:१८