सूचनाको शक्ति - The Power Of Information

        

भेरी–बबई डाइभर्सन आयोजनामा अत्याधुनिक मेसिनबाट धमाधम सुरुङ खनिँदै

कृष्ण अधिकारी/बाँके । सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ । अत्याधुनिक प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) ले सुरुङ खन्न थालेको हो । गत भदौ ३० गते आयोजना स्थलमा ल्याइएको करिब २७४ मिटर लामो टीबीएम मेसिन जडान गरी सुरुङ खन्ने कार्यको परीक्षण सम्पन्न भएपछि कात्तिक २२ देखि धमाधम सुरुङ खन्न थालिएको हो ।
अहिलेसम्म १६९ मिटर सुरुङ खनिसकेको आयोजनाका इञ्जिनियर जगदीश्वरमान श्रेष्ठले बताए । मेसिनबाट दैनिक १८ देखि २० घन्टासम्म सुरुङ खन्ने काम भइरहेको छ । चुरे पहाडलाई नै छेडेर सुरुङ निर्माण गर्न ड्रिलिङ र ब्लास्टिङबाट सम्भव नदेखिएपछि नेपाल सरकारले सिंचाइ विभागको प्रस्ताव अनुसार टीबीएमबाट सुरुङ खन्ने योजना अगाडि बढाएको थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको उक्त मेसिन चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप लिमिटेडले गरिरहेको छ । भेरी र बबई नदीबीचको १२ किलोमिटर लामो चुरे पहाडमा सुरुङ खन्ने कार्य पूरा हुन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ ।
टीबीएमले खनेको माटोलाई मोनो रेलको सहयोगले निकालेर फाल्ने गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने लक्ष्य छ । बबईमा खसालेको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । त्यस्तै, बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ उपलब्ध गराइनेछ ।
यो आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माणमा नेपाल सरकारले उच्च महत्व दिएको र बजेटको अभाव नहुने सिंचाइमन्त्री सञ्जय गौतमले बताए । स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनाको टनेल निर्माणका लागि १० अर्ब ५६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ०७१ माघदेखि सुरु भएको आयोजनाको काममा हालसम्म करिब १ अर्ब ७५ करोड खर्च भइसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार १०:३३