
बाँके । वाम गठबन्धनको बलियो आधार क्षेत्र मानिने बाँकेको खजुरा गाउँपालिका वडा नं.१ राधापुरमा नेपाली काँग्रेसले आइतबार बृहत चुनावी सभा गरेको छ । भुतपूर्व सैनिकको उल्लेख्य मात्रामा बसोबास रहेको उक्त क्षेत्र एमालेको गढका रुपमा चिनिन्छ । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको चुनावी सभामा नेपाली काँग्रेसले आफ्ना विचार र सिद्धान्तबाट मतदातालाई आर्कषण गरेको हो ।
उक्त क्षेत्रमा २०४८ र २०५६ सालमा नेपाली काँग्रेस तथा २०५१ सालमा राप्रपा विजयी भएको थियो । २०६४ सालमा माओबादी र २०७० सालको चुनावमा नेकपा एमाले विजयी भएको थियो । चुनावी सभा तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेताले विकास र समृद्धिका लागी यसपटक क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । क्षेत्र नम्बर ३ मा सोचे अनुसारको विकास हुन नसकेको बताउँदै नेपाली काँग्रेसलाई जिताएपछि विकास निर्माणमा कायापलट गर्ने ठोकुवा गरे ।
साविक राधापुर गाउँ ईकाई सभापति लक्ष्मीनारायण लम्सालको सभापतित्वमा सम्पन्न कार्यालय उद्घाटन तथा चुनावी सभामा नेपाली काँग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, प्रतिनिधी सभा सदस्य उम्मेदवार बादसा कुर्मी, प्रदेशसभा–३ ‘ख’ का उम्मेदवार लक्ष्मीनारायण शाह लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै काँग्रेस नेताले यसपटकको चुनावे कुनै पार्टीबीचको नभएर लोकतन्त्र बचाउने र साम्यवाद ल्याउनेबीचको जनमत संग्रह भएको बताए । ‘यो दुई विचारको जनमत संग्रह हो, लोकतान्त्रिक व्यवस्था स्थापित गर्ने कि साम्यवाद स्थापित गर्ने भन्ने फैसला गर्ने जनताको हो ।’ बोल्ने उम्मेदवारले क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको आफ्नो पुरानो ईतिहास फर्काउने दाबी गरे ।
कार्यालय उद्घाटनसँगै उम्मेदवारले राधापुरमा घरदैलो पनि गरेका छन् । उता प्रदेश सभा–३ ‘क’ का उम्मेदवार चन्तराम थारुले पनि आईतबार विभिन्न ठाउँमा मतदाता, शुभेच्छुक लगायतलाई भेटघाट गरेका छन् । उनले चिसापानी लगायत क्षेत्रमा भेटघाट गरिरहेको जानकारी दिए ।
।