सूचनाको शक्ति - The Power Of Information

        

चुनावी एजेण्डा बोकेर घरदैलोमा वाम गठबन्धन (फोटोफिचरसहित)


बाँके । बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहोल निक्कै तातेको छ । बाँकेको सदरमुकाम मात्रै होइन ग्रामीण क्षेत्रमा चुनावको माहौल निकै तातेको छ । बजार र गाउँका चौकचौकमा चुनावी चर्चा छ । घरघरमा आस्था अनुरुपका झण्डा राखिएका छन् । चुनावी प्रचारमा उम्मेद्वारसहित नेताहरु निक्कै मेहनतका साथ खटेका देखिन्छन् । सुरक्षा उपस्थिति व्यपाक बनाइएको छ ।
विभिन्न राजनीतिक दलहरुले जस्तै बाँकेमा वाम गठबन्धनका उम्मेद्वारहरु सभा, भेटघाट, घरदैलो जस्तो कार्यक्रम भइरहेका छन् । यतिबेला जित आफ्नो पक्षमा पार्न वाम गठबन्धनका उम्मेद्वारहरु विकासका एजेण्डासहित मतदाताका घरघरमा पुगेका छन् । स्थायी सरकार र संवृद्ध विकासका लागि वाम गठबन्धनका उम्मेद्वारहरुको जित्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
वाम गठबन्धनले निर्वाचनपछि बाँकेका सबै क्षेत्रमा आफ्नो दरिलो उपस्थति कायम राख्ने अभियान चलाइरहेको छ । विकास निर्माण, युवा रोजगार लगायतका एजेण्डासहित उम्मेद्वारहरुले घरदैलो अभियान गरिरहेका छन् । नियमित घरदैलो अभियान अनुसार आइतबार वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र, प्रदेशसभा ‘क’का उम्मेद्वार कामता खटिक र प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
उम्मेद्वारहरुले नेपालगन्जलाई औद्योगिक शहर, पर्यटनको प्रवेशद्वार, विशेष आर्थिक क्षेत्र, भेरी अञ्चल अस्पतालको स्तरोन्नती, नेपालगन्ज विश्वविद्यालय स्थापना, प्रदेश राजधानी, बाढी पीडितको स्थायी बसोबास र डुवान कटान नियन्त्रण, युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । उम्मेद्वारहरुले नेपालगन्जको वडा नं. ७ र वडा नं. २० मा घरदैलो गर्दै उक्त प्रतिवद्धता जनाएका हुन् ।
घरदैलोमा समानुपातिक उम्मेद्वारहरु, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘क’ का संयोजक अन्जना चौधरी, सहसंयोजक कप्तान पाठक, राजेन्द्र कँडेल, वडा नं. २० का अध्यक्ष कृष्ण कार्की, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, मो.हारुन, अत्तहर हुसेन फारुकी लगायत नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतवार ०९:४८