
बाँके । संघीय समाजवादी फोरम नेपालले बाँकेले बिरामीहरुलाई फलफूल वितरण गरेर नेपालगन्ज नगरक्षेत्रमा आफ्नो चुनावी घरदैलो तथा मतदाता भेटघाटको अभियान सुरु गरेको छ । क्षेत्र नं. २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले भेरी अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् ।
अस्पतालमा रहेका १५० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो । त्यसपछि त्रिभुवन चोकसम्म फोरमको घरदैलो भएको थियो । त्यसबखत मतदाताहरुले इस्तियाक राईलगायत फोरमका उम्मेदवारहरुलाई जितको शुभकामना दिएका थिए । हज्जारौँ कार्यकर्ताहरुसहितको मतदाता–घरदैलो अभियानका क्रममा राईले समग्र बाँके जिल्लाको विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरेका थिए । बाँकेमा मधेसी, मुस्लिम, पहाडी अनि सबै जातजाति र धर्मका समुदाय मिलेर बसेको भन्दै आफू कुनै जाति वा समुदाय विशेषको नभइ समग्र जिल्ला र जिल्लावासीको हितका लागि चुनावी मैदानमा उत्रिएको बताए ।
‘बाँकेमा सबै मिलेर बनेको समाज छ, अन्य दलहरुले त्यसलाई भाँड्नका लागि जाति अनि समुदाय विशेषको नारा लगाएका छन्’ राईले भने ‘आउनुस् चुनावमा स्वच्छ प्रतिष्पर्धा गरौँ, जनताले आफ्नो विवेक प्रयोग गर्ने हो, मिलेर बसेको समाज भाँड्ने राजनीति नगरौँ ।’ राईले आफू र आफ्नो पार्टीले कहिल्यै पनि जाति वा समुदाय विशेषको नारा नलगाएको भन्दै राजनीतिमा जाति अनि समुदाय विशेषभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । ‘हामी त्यस्तो राजनीति गर्दा पनि गर्दैनौँ, गर्न पनि जान्दैनौँ यो राजनीतिक प्रतिष्पर्धामा जनताले आफ्नै इच्छाले भोट हाल्नुपर्छ साम्प्रदायिक कुरा गरेर, जर्वजस्ती समाज भाँड्ने आरोप लगाएर मत पाइँदैन ।’

।