सूचनाको शक्ति - The Power Of Information

        

लायन्सको आँखा शिविर, ३०६ जनाको आँखा परीक्षण (फोटोफिचरसहित)


बाँके । लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनले सवारी चालकलाई लक्षित गरी नेपालगन्जमा एकदिने निशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण शिविर गरेको छ । मानन्धर चस्मा घर, कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स नेपालगन्जको सहआयोजना तथा फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँकेको प्राविधिक सहयोगमा निशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण शिविर सम्पन्न गरिएको हो । शिविरमा ३०६ जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये ८७ जनालाई चस्मा वितरण गरिएको छ ।
शिविरमा आँखा जाँच गराएका मध्ये ६ जना मोतियाविन्दुका विरामीलाई नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा थप उपचारका लागि पठाइएको छ । शिविरबाट सिफारिस भइ गएका विरामीको उपचारमा सो अस्पतालले उपचार खर्चमा ५० प्रतिशत छुट दिने लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनका अध्यक्ष लायन रेवती सिंहले बताइन् । सवारी चालकलाई लक्षित गरी शिविर सञ्चालन गरिए पनि आँखा उपचारका लागि आएका अन्य व्यक्तिहरुको पनि उपचार गरी चस्मा र औषधि उपलब्ध गराइएको थियो । नेपाल पत्रकार महासंघ बाँके कार्यालयको परिसरमा आयोजना गरिएको शिविरमा यस जिल्लाका पत्रकारहरुको पनि आँखा जाँच गरि चस्मा उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार १०:२९