सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीको सिकाई उपलब्धी बढाउन शैक्षिक प्रदर्शनी


सिराज खान/बाँके । बालमैत्री गुणस्तरीय सिकाई वातावरण निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनका लागि नेपालगन्जमा एक बृहत्त शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरियो । मंगलप्रसाद स्रोतकेन्द्र अन्तर्गतका २१ वटा विद्यालयहरुको सहभागिता रहेको सो स्थानीय शैक्षिक सामग्री प्रदर्शनीमा बालबालिकाको सिकाई वातावरण निर्माण गर्ने र सिकाई उपलब्धी बढाउने किसिमिका बिभिन्न सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।
नेपालगन्ज वडा नम्बर ४ मा आयोजना गरिएको प्रदर्शनीमा राखिएका बिभिन्न शैक्षिक सामाग्रीहरु विभिन्न विद्यालयका बालबालिकाले नै तयार पारेका थिए । मंगलप्रसाद स्रोतकेन्द्र अन्तर्गतका २१ वटा विद्यालयका एक हजार बढी बिद्यार्थिहरुको उपस्थिति रहेको सो प्रदर्शनीमा राखिएका शैक्षिक सामाग्रीलाई हेरेर बालबालिकाको सिकाई उपलब्धी बढेको बाँके उपजिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताए । उनले सो अवसरमा जम्मा भएका बालबालिका, शिक्षक, अभिभावक र बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीले पनि बालमैत्री सिकाई वातावरणका बारेमा धेरै कुरा सिकेको जनाए ।
प्राथामिक तहका विद्यार्थीहरुलाई केन्द्रित गरेर निर्माण गरिएका शैक्षिक सामग्रीहरुको मूल्याङ्कनको आधारमा सो प्रदर्शनीमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारीटोलले प्रथम स्थान प्राप्त गर्यो भने सरस्वती माध्यमिक विद्यालय नेपालगन्जले दोस्रो तथा आदर्श मावि राझाले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । बागेश्वरी आधारभूत विद्यालय बेलासपुरलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । बाँके युनेस्को क्लब र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा मंगलप्रसाद स्रोत केन्द्र नेपालगन्जले आयोजना गरेको सो शैक्षिक प्रदर्शनीमा तयार पारेर राखिएका शैक्षिक सामाग्रीहरु मध्ये अधिकांश संस्कृति र स्थानीय अवस्था झल्कने खालका रहेका थिए ।


सो शैक्षिक प्रदर्शनी अवलोकनका लागि जिल्ला समन्वय समिती बाँकेका प्रमुख अजय बहादुर श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, वडा नम्बर ४ वडा अध्यक्ष सफिक नदाफ, जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, वडा प्रहरी कार्यालयका प्रहरी निरक्षक राजन गौतमले प्रदर्शनीस्थलमा पुगेर प्रदर्शनीको अवलोकन गरेका थिए । यसैगरी सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक आत्माराम भट्टराई, परियोजना अधिकृत फूल कुमारी चौधरी, बाँक युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम संयोजक आशिष बर्मा लगायतको समेत प्रदर्शनीमा उपस्थिती रहेको थियो । उक्त शैक्षिक प्रदर्शनी मंलप्रसाद स्रोत केन्द्र्रका स्रोत व्यक्ति केशव पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ०९:१५