सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आक्रामक प्रचार अभियानमा वाम गठबन्धन (फोटोफिचरसहित)

बाँके । निर्वाचनको मिति नजिँकिँदै छ । बाँकेमा यस पटक मुख्य कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको समेत घोषणा भएपछि सिंगो जिल्ला गठबन्धनमय बन्दैछ । यो बीचमा अन्य पार्टीका चुनावी अभियानभन्दा वाम गठबन्धनले आफ्नो प्रचार अभियानलाई आक्रामक बनाएको छ ।
वाम गठबन्धनले आयोजना गर्ने घरदैलो, भेला लगायतका कार्यक्रमहरूमा व्यापक जनसहभागिता बढ्दै गएको छ । गठबन्धनका उम्मेदवार तथा नेताहरू घरदैलो अभियानमा केन्द्रित भएसँगै जिल्ला गठबन्धनमय बन्दै गएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले गठबन्धनका तर्फबाट आयोजना गरिएका घरदैलो, भेला लगायतका कार्यक्रमहरूमा जनताको व्यापक उपस्थितिले जिल्ला गठबन्धनमय बन्दै बताउँछन् ।
बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २, प्रदेशसभा ‘ख’ उम्मेदवार विजयकुमार गुप्ता लगायतको नेपालगन्जका विभिन्न स्थानमा चुनावी अभियान चलाइरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकताको घोषणा भएपछि जनतामा उत्साह देखिएको निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ्ग बताउँछन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा जसरी पनि जित हात पार्ने लक्ष्यका साथ वाम गठबन्धन चुनावी माहोलमा होमिएको छ । नेपालगन्जको वडा नं. २ र ४ मा घरदैलो र विभिन्न तहमा भेलाहरु सम्पन्न गरिरहेको वाम गठबन्धनले शुक्रबार वडा नं. ५ मा घरदैलो अभियान चलाएको छ । घरदैलोमा वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव, वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का संयोजक रविन्द्र लम्साल लगायतका नेता कार्यकर्ताहरुले घरघरमा पुगेर मतदातासँग मत मागेका थिए ।
यसैबीच, नेपालगन्ज–१ मा वाम गठबन्धन निर्वाचन परिचालन समितिले शुक्रबार नै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । भेलामा नेपाली काँग्रेस, राप्रपा लगायतका विभिन्न पाटी परित्याग गरी ५८ जना युवाहरु वाम गठबन्धनमा आवद्ध भएका छन् । साथै भेलाले वडास्तरीय निर्वाचन परिचलन समिति तथा उपसमितिहरु गठन गरेको छ । घरदैलोमा वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का संयोजक रविन्द्र लम्साल लगायतका नेता कार्यकर्ताहरुले घरघरमा पुगेर मतदातासँग मत मागेका थिए ।
अभियानले यहाँका मतदाताहरुबीच ठूलो पर्व आएजस्तै महसुस भइरहेको छ । वाम गठबन्धनले बाँकेको क्षेत्र नं. १ मा पनि वाम गठबन्धनका उम्मेद्वारहरु चुनावी एजेन्डा बोकेर मतदाताको घरदैलोसम्म पुगेका छन् । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभाका वाम गठबन्धनका उम्मेदवार महेश्वर गहतराज अथक र प्रदेश सभा १ का उम्मेद्वार कृष्णा केसी नमुनाले आक्रमक प्रचार अभियान सुरु गरेका छन् । शुक्रवार चुनावी प्रचार अभियान अन्तरगत राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा आयोजित प्रचार सम्पर्क कार्यलय उद्घाटनपछि बोल्दै वाम गठबन्धन निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवं निवर्तमान सभासद दिनेशचन्द्र यादवले जनताको विकासको चाहना पुरा गर्न नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न हाललाई गठबन्धन गरिएको भन्दै ढुक्क भएर गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्न आग्रह गरे ।
आफुहरुले जनताको संविधान दिन सफल भएको भन्दै उनले जनताको विकास चाहना अव बन्ने वामपन्थी सरकारले पुरा गर्ने बताए । कार्यक्रममा बोल्दै क्षेत्र नं १ का संघका उम्मेदवार महेश्वर गहतराज अथकले बहुमत सहितको बाम सरकार बनाएपछि मात्रै जनताको विकासको चाहना पुरा हुने वाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे । उनले सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको राप्ती सोनारी र नरैनापुर गाउँपालिको डुवान कटान लागायत अन्य विकास निर्माणको आवश्यकता पुरा गर्न लाग्ने प्रतिबद्धता जनाए । यस्तै प्रदेशसभाका उम्मेदवार कृष्णा केसी नमुनाले आफु राप्ती क्षेत्रको समस्याका बारेमा जानकार रहेको भन्दै त्यसको समाधानका लागि लागि पर्ने प्रतिबद्धता जनाइन् ।
फत्तेपुरमा भएको कार्यक्रममा थारु समुदाय तथा गंगापुरमा भएको कार्यक्रममा मुस्लिम तथा मधेसी समुदायका अगुवाहरुले संघ, प्रदेशसभा तथा वामगठबन्धका उम्मेदवारलाई फुलमालाले भब्य स्वागत गरेका थिए । उनीहरुले मुस्लिम तथा थारु लगायत उत्पीडित समुदायको समस्या समाधान वामपन्थीबाट मात्रै सम्भव भएको भन्दै वाम उम्मेदवारलाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले आफुहरुले उत्पीडित दलित समुदायबाट संघको उम्मेदवार तथा संघमा महिला उम्मेदवार पाएकोमा आफुहरु खुसी भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ११:३५