सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि प्रतिवद्धता


सिराज खान/बाँके । सबैले आ आफ्नो जिम्मेवारीलाई ईमान्दारितापूर्वक समयमै पुरा गरेर गुणस्तरीय शिक्षामा योगदान पुर्याउने ५ बुँदे सामुहिक प्रतिवद्धता ब्यक्त गरिएको छ । बिद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि विहिबार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित युद्ध संस्कृत माविमा आयोजना गरिएको ‘शिक्षा संवाद’ कार्यक्रममा शिक्षक, अभिभावक, बिद्यालय ब्यबस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले सो ५ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
संवाद कार्यक्रममा सहभागि अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय ब्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयका कर्मचारीबीच भएको अन्तरक्रिया र छलफल पछि सामुहिक रुपमा ५ बुँदे प्रतिवद्धता तयार गरिएको थियो । बिद्यार्थी नियमितिता र गुणस्तरीय शिक्षाका लागि संवादमा सहभागी सबैले मिलेर तयार गरिएका प्रतिवद्धताहरुमा कक्षागत शिक्षकले हरेक महिना कक्षागत रुपमा अभिभावक भेला गर्ने, शिक्षक अभिभावक संघ र विद्यालय ब्यवस्थापन समितिको नियमित बैठक बसेर छलफल तथा अन्तरक्रिया गर्ने, बिद्यालय सञ्चालन हुने अवधीभर विहान १० देखि बेलुका ४ बजेसम्म नियमित कक्षा सञ्चालन गर्ने, जिल्ला शिक्षा कार्यालयले नियमित निरिक्षण र अवलोकन गर्ने तथा तयार पारिएका प्रतिवद्धतालाई पुरा गर्ने रहेका छन् ।


सो कार्यक्रममा सहभागि अधिकांश अभिभावकले शिक्षक गैरजिम्मेवार भएको, बिद्यालयमा पढाई नहुने तथा विद्यार्थीलाई हाफ टाइमपछि ध्यान नदिइने गरिएको जनाएका थिए भने शिक्षकले अभिभावक गैरजिम्मेवार भएको, अभिभावकले बिद्यालयमा कहिलै नआउने तथा बालबालिकालाई घरमा नपढाउने जस्ता कारणले गुणस्तरीय शिक्षा दिन नसकिएको बताएका थिए । हाफ टाइमपछि अधिकांश बिद्यार्थी घर जाने र फर्केर नआउने कुरा शिक्षकले उठाएका थिए भने हाफ टाइमपछि पढाईनै नहुने हुँदा आफुहरु विद्यालयमा नबस्ने विद्यार्थीको भनाई थियो । सो अवसरमा जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी पुरा गरेमा शिक्षालाई गुणस्तरीय बनाउन सहज हुने बताए ।


उनले विद्यालयमा आउने विद्यार्थी टिकाउने दायीत्व शिक्षकको भएको र बिद्यालय पठाउने दायीत्व अभिभावकको भएको पनि प्रष्ट पारे । उक्त कार्यक्रममा अभिभावकहरु लक्ष्मी पन्त, सुरज हरिजन र ममता पन्तले बिद्यालयले कडाई नगरेको र पठनपाठनमा लापरवाही गरेकोले समस्या आएको बताएका थिए । बिद्यार्थीहरु गोविन्द पुनमगर, अन्जु चौधरी, बिद्या हरिजन र सरिता मगरले शिक्षकहरुको लापरवाहीले पढाई नियमित हुननसकेको बताएका थिए । यसैगरी सो विद्यालयका प्रधानाध्यापक दिलिप कुमार श्रीवास्तव, शिक्षकहरु नरायण दत्त र सुशिला कोइरालाले आफुहरुले धेरै प्रयास गरेर पनि अभिभावकको बेवास्ताका कारण बिद्यार्थीको उपस्थिति नै कम रहने गरेको बताए । सो अवसरमा वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपालगन्जका पूर्व मेयर विजय गुप्ता र श्रोत ब्यक्ति ईश्वर पौडेलले अभिभावक र शिक्षक दुबैले आआफ्ना जिम्मेवारी पूर्णरुपमा पालना गर्न सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ०६:३७