बाँके । आगामी मंसिर २१ गते हुने आम निर्वाचनलाई लक्षित गरी बाँके प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । सुरक्षा व्यवस्थालाई चुस्तरुपमा निर्वाचन सुरक्षा योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गराउन सुरक्षा सर्तकता अघि बढाइएको छ ।
निर्वाचनलाई लक्षित गरी सुरक्षा सर्तकता बढाइरहेकै बेला बाँके प्रहरीले बाँकेका विभिन्न स्थानबाट तीन थान अबैध हतियारसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा रहेका मध्ये २ जना भारतीय नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार गत कात्तिक २५ गते राती पौने ११ बजे बाँके डुडुवा गाउपालिका वडा नं.३ मल्लीपुरुवामा भारत रिसियाका बर्ष २० को नन्कउ नाउ र बर्ष ३० को शेर अली नटलाई चेकजाँच गर्दा नन्कउको साथबाट कटुवा पेस्तोल नाल १, सोमा प्रयोग हुने मिस फायर भएको गोली १ राउण्ड बरामद भएको छ ।
प्रहरी उपरिक्षक तामाङ्गले पक्राउ परेका दुबै जनालाई हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा सो बरामद हतियार सोही ठाँउ बस्ने सफिउल्ला नटले फसाउने नियत राखि दिएको भन्ने खुल्न आए पश्चात निज सफिउल्ला नटलाई समेत पक्राउ गरी सोही मुद्दामा म्याद थप लिई अनुसन्धान भई रहेको बताए ।
यसैगरी सोही दिन राप्ती सोनारी गाउपालिका.वडा नं.६ स्थित ढलैयामा संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटि गएको प्रहरी टोलिले चेकजाँचको क्रममा जिल्ला बाँके नरैनापुर गाउपालिका वडानं. ५ बस्ने बर्ष २५ को गोपाल रोकाय र वडा नं. ६ बस्ने बर्ष २६ को जयबहादुर बुढाथोकीलाई रोकी चेकजाँच तथा तलासी लिदा गोपाल रोकायको साथबाट एयरगन पेस्तोल नाल १ फेला पारी बरामद गरी उनीहरु माथि हातहतियार खरखजना मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी उपरीक्षक तामाङ्गले गत कात्तिक २७ गते दिउँसो २ बजेको समयमा राप्ती सोनारी गाउपाँलिका वडा नं. ६ स्थितमा अबैध हतियारको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा सो स्थानमा प्रहरी टोली पुगेर कारवाही गर्दा राप्ती सोनारी वडा नं ७ घर बताउने बर्ष ५८ को धनबहादुर बिकलाई चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान १ फेला पारी बरामद गरी अनुसंधान सुरु गरेको बताए ।
।