सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीज्यूको अनौठो रहर, होटल र सडकमै सलामी !

आफू बसेको होटल बाहिर सलामी खाँदै विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र सडकमै सलामी लिइरहेका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट ।

आफू बसेको होटल बाहिर सलामी खाँदै विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र सडकमै सलामी लिइरहेका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट ।


आफू बसेको होटल बाहिर सलामी खाँदै विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही ।


सडकमै सलामी लिइरहेका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट ।


काठमाडौं । बीबीसी साझा सवालकी प्रस्तोता विद्या चापागाईले कालिकोटबाट पोष्ट गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनले विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले आफू बसेको होटलकै बाहिर नेपाल प्रहरीबाट सलामी लिइरहेको भिडियो पोष्ट गरेकी थिइन् । भिडियो पोष्ट गर्दै चापागाईले लेखिन्, ‘सर्वहारा वर्गका मन्त्रीज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक बिहान यसरी सलामी ग्रहण गर्नुहुँदो रहेछ । संसारलाई फेर्छु भन्थ्यो, आफैं फेरिएछ ।’
माओवादी लडाकूका तत्कालीन डिभिजन कमाण्डरसमेत रहेका मन्त्री शाहीले हरेक विहान सदरमुकाम मान्मको होटलमै प्रहरी बोलाएर सलामी लिने गरेको विद्याले दाबी गरेकी छिन् । मन्त्री शाही अहिले कालीकोट (ख) बाट प्रदेश सभाका उम्मेदवार छन् । र, उनी मुख्यमन्त्रीका दाबेदारसमेत हुन् । यस्तै विद्याले ट्वीट गरेको सोही भिडियोमा अर्का एकजना मन्त्रीले सडकमै सलामी लिइरहेको फोटो मेन्सन भयो । उनी रहेछन्, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट । प्रदेशसभाको उम्मेदवार विष्ट पनि चुनावी अभियानकै क्रममा गृहजिल्ला सुर्खेतमै छन् । विष्टले सुर्खेत सदरमुकामको सडकमै प्रहरीको सलामी खाएका रहेछन् । सामान्यतया मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई प्रहरीको टुकडीले यसरी सलामी दिने गर्दैन ।
औपचारिक समारोहमा दिइने सलामीबाहेक, मन्त्रीहरुसँग नेपाल प्रहरी र नेपाली सेनाबाट खटाइएका अंगरक्षक मात्रै हुन्छन् । झण्डावाल गाडीमा सवार भएका मन्त्रीलाई प्रहरीले सलाम गर्नु एउटा कुरा भयो, तर आफू बसेकै होटलमा र हिँड्दा हिँड्दै सडकमा प्रहरीको टुकडीबाट सलामी ग्रहण गर्नु कति जायज हो ? यी तस्वीरले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् । नेपाल प्रहरीले पनि कसलाई कुन अवस्थामा औपचारिक सलामी अर्पण गर्ने भन्ने विषयमा तल्ला युनिटसम्म स्पष्ट निर्देशन दिएको देखिँदैन । महेन्द्रबहादुर शाही कालिकोटबाट प्रदेशसभाको उम्मेदवार तथा ६ नम्बर प्रदेशका भावी मुख्यमन्त्रीका दावेदार मानिएका छन् । त्यस्तै तप्वहादुर बिष्ट नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर २ बाट प्रदेशसभाको उम्मेदवार छन् । उनीहरुले निर्वाचन जितेपछि सलामीबारे कस्तो नीति बनाउलान् ? त्यो चाँहि पक्कै पनि हेर्न लायकको होला कि ?

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ०९:५३