डडेलधुरा । २०४८ साल यता भएका सबै निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा विजयी हुँदै आएका छन् । मंसिर २१ मा दोस्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका छन् । तर, देउवा अहिलेसम्म चुनावी अभियानका लागि डडेल्धुरा पुगेका छैनन् । उम्मेदवारी दर्ता पनि देउवाले वारेसनामा मार्फत नै गरेका थिए । मनोनयन दर्ता भएको १० दिन भइसक्दा पनि प्रधानमन्त्री देउवा गृहजिल्ला पुगेका छैनन्, चुनावी अभियानका लागि। देउवाले यो पटक पनि अघिल्लो पटक जस्तै पुरानै प्रतिद्वन्द्वी पाएका छन् । २०४८ सालमा पहिलो पटक सांसदमा विजयी भएका देउवा चौथो पटक प्रधानमन्त्री भइसकेका छन् ।
यसपटक पनि देउवाले जिते भने यो उनको डबल ह्याट्रिक जीत हुनेछ । देउवा छैटौं पटक उम्मेदवार बन्दा तेस्रो पटक एउटै प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ, यो पटक पनि । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । वाम गठबन्धनले माओवादी केन्द्रका नेता खगराज भट्टलाई देउवाविरुद्ध उम्मेदवार बनाएको छ । भट्ट तेस्रो पटक देउवासँग प्रतिस्पर्धामा उत्रिएका छन् । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा भट्ट माओवादी केन्द्रका तर्फबाट मात्रै उम्मेदवार हुँदा दोस्रो स्थानमा सीमित भएका थिए । तर, यो पटक भने एमाले र माओवादी केन्द्रकै साझा उम्मेदवारका रुपमा मैदान ओर्लिएकाले भट्ट देउवाका लागि असामान्य चुनौति बनेका छन् । प्रतिनिधि सभाका उम्मेदवार प्रधानमन्त्री देउवाबिना नै कांग्रेसका प्रदेश सभाका उम्मेदवार कर्ण मल्ल र रघुवर भट्ट चुनावी घरदैलोमा निस्केका छन् ।
देउवा अझै केही दिन जिल्ला जाने स्थितिमा छैनन् । टिकटका विषयलाई लिएर जिल्लामा पूर्व सभापति रघुवर भट्ट र वर्तमान सभापति मल्लबीचको विवादले उग्र रुप लिएको थियो। विवादकै कारण पूर्व सभापति रघुवर र वर्तमान सभापति मल्लले छुट्टाछुट्टै सिफारिस केन्द्रमा पठाएका थिए । विवादकै कारण सभापति मल्लले प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम सिफारिस गरेनन् । विवादले उग्ररुप लिएपछि देउवाले जिल्ला सभापति मल्ल र भट्ट दुवैलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाए । त्यसपछि डडेल्धुरा जिल्लाको विवाद साम्य भएको छ । दुवै जना आआफ्नो चुनावी क्षेत्रमा कार्यकर्तालाई लिएर भोट माग्न व्यस्त छन् । वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट पनि चुनावी अभियानमा छन् । टिकट पाएपछि भट्टले भनेका थिए, ‘यो पटक जसरी पनि शेरबहादुर देउवालाई हराउँछु ।’
एमालेको पनि साथ रहेकाले आफू निर्वा्चित हुनेमा भट्ट ढुक्क छन् । तर, देउवालाई हराउन भट्टलाई पनि त्यति सहज भने छैन । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा भट्ट देउवासँगै पराजित भए । पहिलो संविधान सभा निर्वाचनमा करिव हजार मतान्तरले चुनाव हारेका भट्ट दोस्रो संविधान सभा चुनावमा भने ११ हजार मतान्तरले पराजित भए । डडेल्धुरा कांग्रेसको गढ नै मानिन्छ । तर, केही महिनाअघि सम्पन्न भएको स्थानीय तहमा भने कांग्रेसको पकड भएको क्षेत्रमै माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । स्थानीय तह निर्वाचनको त्यही मत परिणामलाई हेर्ने हो भने देउवा यो पटक सुरक्षित ‘जोन’ मा भने पक्कै छैनन् । २०७० सालको संविधानसभा निर्वाचनमा देउवाले माओवादी केन्द्रका उम्मेदवार भट्टलाई ११ हजार भन्दा बढी मतान्तरले हराएका थिए । देउवाले २३ हजार ९२० मत पाउँदा माओवादी केन्द्रका खगराज भट्टले १२ हजार ४९३ मत प्राप्त गरे । एमालेका ताराप्रसाद जोशीले ७ हजार १ हजार ९० मत पाए ।
एमाले र माओवादीका उम्मेदवारले पाएको मत जोड्दा पनि देउवाले पाएको मतको हाराहारी नै पुग्दैन । स्थानीय तह निर्वाचनको परिणाम भने कांग्रेसका लागि निराशाजनक रह्यो । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा ४ वटामा कांग्रेस, २ वटामा एमाले र एउटा स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको थियो । डडेल्धुरा जिल्लाका सबै नगरपालिका र गाउँ पालिका गरी ५२ वडा छन्, त्यसमध्ये एमाले १९ वडामा विजयी भएको थियो भने कांग्रेस १७ र माओवादी १६ वटा वडामा विजयी भयो । वडा अध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो छन् । कांग्रेसले स्थानीय तह निर्वाचनमा डडेल्धुरामा १८ हजार ३०६ मत पाएको थियो, एमालेले १५ हजार ६१७ र माओवादी केन्द्रले ११ हजार ७३० मत प्राप्त गरेको छ। एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने कांग्रेसको भन्दा झण्डै १० हजार मत छ ।
निश्चय नै, स्थानीय तहमा दलले पाएको मतलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले पाउने मत मान्न सकिन्न । तर, धेरथोर आधार भने मान्न सकिन्छ । गठबन्धनको मत स्थानीय तह निर्वाचनमा आएको जस्तै गरी भट्टको पक्षमा मत खस्यो भने बहालवाला प्रधानमन्त्री देउवामाथि चुनौती अवश्य हुनेछ । प्रतिनिधि सभामा देउवा वा भट्टमध्ये कसले वाजी मार्लान्, त्यो अहिले नै भन्न सकिन्न । तर, एउटा कुराका चाहिँ भन्न सकिन्छ, देउवाले वाजी मारे भने जितका हिसावले यो उनको दोस्रो ह्याट्रिक हुनेछ । किनभने, डडेलधुराबाट मात्रै उनले यसअघि ५ पटक विजय हासिल गरिसकेका छन् । देउवाले जितेको स्थितिमा हारका दृष्टिले भट्टको पहिलो ह्याट्रिक हुनेछ । किनभने, उनी देउवासँग यसअघि दुई पटक पराजित भइसकेका छन् ।
।