सूचनाको शक्ति - The Power Of Information

        

वाम गठबन्धनले थाल्यो घरदैलो अभियान (फोटोफिचरसहित)


बाँके । संयुक्त वाम गठबन्धनले नेपालगन्जमा घरदैलो अभियान शुरु गरेको छ । क्षेत्र नं. २ र प्रदेश सभा ‘ख’ मा पर्ने नेपालगन्ज बजारबाट वाम गठबन्धनले घरदैलो अभियान शुरु गरेको हो । क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र प्रदेशका उम्मेदवार विजयकुमार गुप्तासहितको टोलीले नेपालगन्ज–२, घरबारीटोलबाट अभियानको शुरुवात गरेका छन् । दुई उम्मेदवार, संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. २ र प्रदेश कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरु घरदैलोमा सहभागी रहेका थिए । वडा नं. २ का घर, पसलहरुमा पुगेर उम्मेदवार मिश्र र गुप्ताले आफूलाई मत दिन अनुरोध गरेका थिए । संयुक्त वामगठबन्धनका उम्मेदवारहरु सूर्य र गोलाकारभित्रको हसिँया हथौडा चुनाव चिन्ह अंकित झण्डा, व्यानर, पोष्टर, पम्प्लेट लिएर मतदाताको घरदैलोमा पुगेका थिए ।
पहिलो दिनको घरदैलोमा पुग्दा जनताले राम्रो सम्मान गरेको नेपालगन्जका प्रदेश उम्मेदवार गुप्ताले बताए । एकपटक आफूलाई चुनाव जिताउन अनुरोध गर्दै मतदाताकहाँ पुगेका गुप्ताले विधायक हुँदा पाउने पारिश्रमिक सामाजिक काममा खर्च गर्ने घोषणा गरेका छन् । संयुक्त वाम गठबन्धन तथा एमाले र माओवादी केन्द्रसमर्थित चुनावी गीत बजाउदै ठूलो संख्याका नेता तथा कार्यकर्ताहरु बजारमा निस्किदा चुनावी माहोल देखिएको थियो । नेपालगन्ज बजारलाई अरुभन्दा एमालेले अगाडि घरदैलो थालेको छ । वडामा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजक बनाइसकेको वामगठबन्धनले एमाले र माओवादी केन्द्रका वडाका कमिटीहरुलाई एउटै बनाउदै चुनावी अभियानलाई अझ सशक्त बनाएका छन् । वडा नं. ४ मा मंगलबार संयुक्त कमिटी गठन गरेर ३० गतेको घरदैलोलाई बृहत बनाउने निर्णय गरेको छ । अरु वडाका कमिटीहरु पनि एउटै बनाउने क्रम तिब्रगतिमा अघि बढेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार १०:३५