बाँके । वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् । जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु जनताको आश्रिवाद लिँदै घरदैलोमा व्यस्त रहन थालेको जनाएका छन् । उम्मेद्वारहरु भन्छन्, ‘निर्वाचन जितिसक्यौ, घोषणा हुनमात्रै बाँकी छ ।’ नेपालका दुई ठूला कम्म्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्मका लागि एकता र निर्वाचनपछि एकीकरण नै गर्ने दिशामा अघि बढिरहेका संकेत भइरहेको छ ।
‘हामीले एकीकरण भइसकेको महसुस गरिरहेका छौँ । हिजो जेजसरी अघि बढ्यौँ, ति तिक्कताहरुलाई बिर्सिएर जनताका माझ हामी उपस्थित भएका छौँ । अब यो एकता प्रयासलाई कसैले रोक्न सक्दैन,’ बाँके क्षेत्र नं. २ का एक मतदाताले भने, ‘केपी ओली र प्रचण्ड देशका महानायक बनेर दुई ठूला कम्युनिष्ट पार्टीलाई एउटै कम्युनिष्ट केन्द्र बताउनुपर्छ ।’ विगतमा विपक्षमा रहेका दुई ठूला कम्म्युनिष्ट पार्टीहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक भएर उभिँदा स्थानीय नागरिकहरुले स्थायी सरकार र विकासको आशा गरिरहेका छन् ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र भन्छन्, ‘विकास मेरो पहिलो प्राथमिकता हो । यसमा कुनै सम्झौता गर्दिन ।’ शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रमा आफ्ना योजनाहरु सार्वजनीकिकरण गरेका मिश्रले बाँकेलाई सम्वृद्ध बनाउन कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुले जनताका बीचमा स्थायी सरकार, मुलुकको विकास र संवृद्धिको नारा लिएर जनताका बीचमा पुगिरहेका बेला स्थानीय नागरिकहरु पनि उत्साहित भएका छन् । बाँके क्षेत्र नं. २ प्रदेश ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ताले आफुले पाउने पारिश्रमिकलाई सामाजिक विकासमा खर्च गर्ने घोषणा गरिरहँदा मतदाताहरुले त्यसको स्वागत गरिरहेका छन् । उम्मेद्वार गुप्ता भन्छन्, ‘मेरो पारिश्रमिक म लिन्न, जनताले महसुस गर्नेगरी सदुपयोग गर्छु ।’
यस्तै वाम गठबन्धनका साझा उम्मेद्वारहरुले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन् । क्षेत्र नं. २ को प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ‘क’ प्रदेशका उम्मेदवार कामताप्रसाद खटिकले सोमबारदेखि नै बेतहनीबाट घरदैलो अभियानको शुरुवात गरिसकेका छन् । क्षेत्र नं. २ ‘ख’का उम्मेदवार विजयकुमार गुप्ताले मंगलबारदेखि नेपालगन्जको वडा नं. २ बाट घरदैलो अभियान शुरुवात गर्ने जानकारी दिए । ‘वडा नं. २ बाट मेरो घरदैलो अभियान शुरु हुन्छ, उम्मेदवार गुप्ताले भने, ‘अब मंसीर १० गतेसम्म घरदैलो अभियान चल्छ ।’
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा र प्रदेशसभाका वाम गठबन्धनका साझा उम्मेद्वारहरुले मानखोलाको कटान नियन्त्रण आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । बैजनाथ गाउँपालिकाको टिटिहिरियामा आज सोमबार भएको कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभाका उम्मेदवार आइपी खरेलले मानखोला कटान नियन्त्रण गरी मानवबस्ती र खेतीयोग्य जमिन जोगाउने कार्यलाई पहिलो प्राथमिकता दिइने बताए ।
प्रतिनिधीसभा उम्मेदवार रोकायले मानेखालाले आफनो निर्वाचन क्षेत्रका अधिकांश क्षेत्रमा असर पारेको बताउँदै दीर्घकालीन समाधानका लागि समाधान खोजिने बताए । उनले सडक, पुल लगायत भौतिक विकासका लागि विशेष कार्ययोजना सहित काम गरिने बताए । प्रदेशसभाका उम्मेदवार आइपी खरेलले मानखोलाको कटान दीर्घकालीन समाधानका लागि पक्की तटबन्धन निर्माणलाई अघि बढाइने बताए । उनले कृषिमा आधुनिकीकरणसँगै सिँचाई सुविधालाई पनि प्राथमिकता दिइएको बताए ।
रोकाय र खरेलले चाँदनीचौक–सोनपुर सडक कालोपत्रेसहित स्तरउन्नती गर्ने, टिटिहिरियाबाट रनियापुर जोडने पक्की पुल निर्माण गर्ने, मानखोला लिफ्ट सिचाई योजना सञ्चालन गर्ने, हस्नापुर–थपुवा जोडने जेठीनालामा दुबैतर्फ तटबन्ध, झिंगौरा बाँध निर्माण, विद्यालयका अधुरा भौतिक निर्माणका कामलाई पुर्णता दिइने प्रतिवद्धता जनाए । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर सुनार, सहसंयोजक शालिकराम खडका, देबबहादुर रावत लगायतले टिटिहिरियाको विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
यसैबीच बैजनाथ गाउँपालिका वडा नं. ३ मा १२५ सदस्यीय युवा निर्वाचन परिचालन कमिटी गठन भएको छ । युवा संघका सचिवालय सदस्य दीपक जिएमको उपस्थितीमा भेला भएको हो । भेलाले बीरबहादुर बस्नेत संयोजक र सीता मल्ल सहसंयोजक सहित ८ वटा टोल कमिटी पनि गठन गरेको छ । क्षेत्र नम्बर ३ स्तरीय महिला भेला, मतदाता शिक्षा तथा राजनीतिक पशिक्षण समेत सोमबार खजुरामा सम्पन्न भएको छ ।
यस्तै वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले कुसबधिया लगायत सिमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि पहल गर्ने बताएका छन । बाम गठबन्धनले सोमबार इन्द्रपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार गौतमले पत्थरको काम गरी जीवनयापन गर्र्दै आएका कुसबधियालाई सहज र सरलढंगले पत्थरको ब्यवस्था गरिने बताए । उनले बाम गठबन्धनको सरकारले सामाजिक सुरक्षाभत्ता बढाएर ५ हजार पु¥याउने भन्दै मधेसी समुदायमा नागरिकता समस्या र घरबारबिहिनका लागि आवासको ब्यवस्था गरिने बताए ।
सो अवसरमा जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले मधेस र मधेसी समुदायको विकास बाम गठबन्धनको नेतृत्वमा बन्ने स्थायी सरकारले मात्रै समाधान गर्ने बताए । स्थानीय हुसेन यादवको अध्यक्षतामा भएको कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, पदम धिताल, रक्षाराम बर्मा, एकमाया विक, भुमिसरा धिताल, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा लगायतको सहभागिता रहेको छ । बाम गठबन्धनले निर्वाचन परिचालन समितिको वडा कार्यालय समेत संचालनमा ल्याएको छ ।
।