सूचनाको शक्ति - The Power Of Information

        

माओवादी नेता महरा भन्छन्, ‘म शान्तिको दूत हुँ’


दाङ । माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्रनम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर महराले आफू पाहुना उम्मेदवार नभइ शान्तिको दूत भएको बताएका छन् । रोल्पा घर भए पनि दाङबाट उम्मेदवार बनेका बेला प्रतिस्पर्धी दलबाट टुरिस्ट उम्मेदवारको संज्ञा पाएका महराले आइतबार दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञमा भने, ‘नेपालको शान्ति प्रक्रियाको अगुवाइ गरेकाले मलाई शान्ति दूतको रुपमा बुझ्न आग्रह गर्दछु ।’
नेपालको विकास र शान्ति प्रक्रियामा आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले यसमा गौरव महसुस भएको बताए । ‘०५८ सालदेखि शुरु भएको नेपाल शान्ति प्रक्रिया हुँदै ०६३ सालमा भएको शान्ति सम्झौतासम्म हाम्रो पार्टीको तर्फबाट मैले नेतृत्व गर्ने अवसर पाएँ,’ महराले भने, ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा मैले महत्वपूर्ण भूमिका खेलेकाले पनि यसमा गौरब महसुस भएको छ ।’ महराले आफू भौतिकवादमा विश्वास गर्ने भए पनि सबै धर्मको उत्तिकै सम्मान गर्ने बताए ।
‘म आफूमा कम्युनिष्ट हुँ र म भौतिकवादलाई विश्वास गर्छु,’ उनले भने, ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था गर्नेहरुलाई सम्मान गर्छु किनकि म सबै धर्मलाई उत्तिकै सम्मान गर्छु ।’ विद्यालयमा जारी महायज्ञमा महराले एक लाख रुपैयाँ दान गरे । उनले विद्यालयको पूर्वाधार निर्माणमा राज्यस्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । महराले अब पूर्णरुपमा विकास निर्माणमा लाग्ने प्रतिबद्धतासहित दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेको बताए । सो अवसरमा महरालाई खैरामा स्थानीयवासीले बजागाजासहित सम्मान गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ०६:०९