बाँके । वाम गठबन्धन बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले आफनो क्षेत्रका विकास निर्माणका समस्याबारे विज्ञ भएको बताउँदै निर्वाचनमा विजयी बनाउन सहयोगको आगह गरेका छन् । राधापुरका अगुवा कार्यकर्ताहरुसँग उम्मेदवार रोकायले बर्षौदेखि यहि क्षेत्रमा राजनीतिक अगुवाई गर्दै आएको बताउँदै सबैखालका समस्यासँग परिचित रहेका कारण समाधानका लागि नेतृत्व लिने बताए ।
उनले भने, ‘हामीहरु तपाईहरुको ज्युँदाका जन्ती र मर्दाका मलामी हौं, निर्वाचन जितेर गए पनि यहि क्षेत्रमा रहेर विकास निर्माणको अगुवाई गर्नेछौं ।’ प्रदेश २ का उम्मेदवार बाबुराम गौतमले जीवनका ५ दशक यहि क्षेत्रमा बिताएको भन्दै सधैँ जनताको सुखदुखको साथी बन्दै आएको र अब पनि बन्ने बताए । रोकाय र गौतमले सडक कालोपत्रेलाई मुख्य प्राथमिकता दिएको बताउँदै पुल, कल्भर्ट, कटान नियन्त्रण, सिँचाई, कृषिमा आधुनिकीकरण लगायत आफुहरुको प्राथमिकतामा रहेको बताए ।
क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर सुनार, सहसंयोजक शालिकराम खडका, सचिव रत्न खत्री, प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक पदम धिताल, सहसंयोजक रक्षाराम बर्मा, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा, खजुरा गाउँपालिका १ राधापुरका वडा अध्यक्ष सुमन मल्ल लगायतले अगुवा कार्यकर्ताहरुसँग छलफल गरेका थिए ।
यस्तै, बाम गठबन्धन क्षेत्र नम्बर ३ ‘क’ का उम्मेदवार आइपी खरेलले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । भेटघाटका क्रममा उम्मेदवार खरेलले विकासका लागि वाम गठबन्धनलाई जिताउन सबैमा आगह गरे । उनले आफनो क्षेत्रको विकासका लागि स्पष्टा योजनासहित चुनावी अभियान सुरु गरेको बताए ।
।