सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण !


बाँके । स्थानीय तहको निर्वाचनका क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपक्ष भएर उभिएका थिए । एमाले प्रमूख प्रतिपक्ष दल भइरहँदा माओवादी केन्द्र सरकारमा दोस्रो ठूलो दलका रुपमा सहभागि भएको थियो । तर राजनीतिक घटनाक्रमसँगै विपक्षी रहेका नेपालका दुई ठुला कम्यूनिष्ट पार्टीबीच पार्टी एकीकरण भइरहेको छ । एकीकरणको चर्चा भइरहेका बेला जिल्लास्तरमा पार्टी एकता संयोजन समितिसमेत गठन हुन थालेका छन् । यो निर्णयले स्थानीय तहका कार्यकर्ता भने एकीकरण हुने भन्ने नेताहरुको भाषणसँगै एउटै कम्यूनिष्ट केन्द्र हुन्छ भन्ने विस्वस्त हुन थालेका छन् । दुई ठुला कम्यूनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको संयुक्त सर्कुलर अनुसार बाँकेमा पार्टी एकता संयोजन समिति गठन गरिएको छ । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाको संयोजकत्वमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन भएको छ । समितिको सह–संयोजकमा माओवादी केन्द्रका प्रकाश सुवेदी रहेका छन् । त्यसैगरी सदस्यहरुमा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष निरक गुरुङ्ग, सचिव रत्न खत्री, उपसचिव प्रमोद धिताल, माओवादी केन्द्रका तर्फबाट डम्बर विक (तुफान) र अकल बम रहेको समिति गठन गरिएको छ । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको निर्वाचनको महाअभियानमा क्रियाशील रहन वाम–गठबन्धनमा संगठित भएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कडा निर्देशन दिइएको छ । कोइरालाले जारी गरेको प्रेस विज्ञप्तीमा वाम–गठबन्धनका विरुद्धमा लाग्ने जो कोही नेता कार्यकर्तालाई तत्काल कार्वाही गरिने जनाइएको छ । विज्ञप्तीमा वाम–गठबन्धनलाई साथ र समर्थन दिनका लागि उद्योगी व्यापारी, शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दै पार्टी एकता संयोजन समितिले कार्य विभाजन समेत गरेको छ । कार्य विभाजन अनुसार क्षेत्र नं. १ मा प्रकाश सुवेदी र निरक गुरुङ्ग, क्षेत्र नं. २ मा अकलबहादुर बम र प्रमोद धिताल र क्षेत्र नं. ३ मा रत्न खत्री र डम्बर विक तुफानलाई जिम्मा दिने निर्णय गरिएको पार्टी एकता संयोजन समितिका सदस्य प्रमोद धितालले सत्यपाटीलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतवार १५:१९